बलियो घर निर्माणमा तालिम प्राप्त डकर्मी



चिरञ्जीवी मास्के, दोलखा
प्राविधिक रूपमा बलियो र भूकम्प प्रतिरोधी घर निर्माणमा सघाउ पुर्याउने उद्देश्यले दोलखामा विभिन्न संघसंस्थाले स्थानीय डकर्मीलाई सीप अभिवृद्धिसम्बन्धी तालिम दिँदै आएका छन्।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले बलियो घर कार्यक्रमअन्तर्गत दोलखाको १३ गाविस र १ नगरपालिकामा रहेका १ हजार ५ जना डकर्मीलाई सीप अभिवृद्धि तालिम दिएको एनसेट दोलखाका जनसम्पर्क अधिकृत जगदीश शिवाकोटीले बताए।

पहिलो चरणमा विगतदेखि नै डकर्मी काममा संलग्नलाई मात्र तालिम दिइएको शिवाकोटीले बताए। एनसेट दोलखाले अहिलेसम्म आफ्नो कार्यक्षत्र रहेको दोलखाको बिगु, चिलंखा, लादुक, लामिडाँडा, भीरकोट, झुले, जफे, मालु, मागापौवा, काटाकुटी, च्यामा, बाँबरे र आलम्पु गाविस र भीमेश्वर नगरपालिकाका १ हजार ५ जना मजदुरलाई डकर्मीसम्बन्धी सीप अभिवृद्धि तालिम दिएको र त्यसमा ३३ जना महिला रहेको शिवाकोटीले बताए। ३३ ठाउँमा सञ्चालन गरिएको ७ दिने तालिममा सहभागी १ हजार ५ जना डकर्मी अहिले घर निर्माणमा संलग्न रहेको एनसेट दोलखाले जनाएको छ।

एनसेटको अलवा नेपाल रेडक्रस, प्लान इन्टरनेसनल नेपाल, यूएनडीपी, इकार्डस दोलखालगायतका संघसंस्थाले समेत ७ सय ८५ जना डकर्मीलाई सीप अभिवृद्धिसम्बन्धी तालिम दिइसकेको जनाइएको छ। त्यसै गरी हेल्भाटासले दोलखाका ४ सय ६१ जनालाई ५० दिने डकर्मीसम्बन्धी तालिम दिएको र नेपाल रेडक्रस दोलखा शाखाले जिल्लाको २ हजार ६ सय ८ जनालाई तीनदिने र पाँचदिने डकर्मी तालिमसमेत दिएको शिवाकोटीको भनाइ छ। भूकम्पपछि दोलखाको अधिकांश घर क्षतिग्रस्त भएकाले अहिले तालिम प्राप्त सबै डकर्मी काममा रहेको शिवाकोटीको भनाइ छ।

भूकम्प प्रतिरोधी घर निर्माणका लागि डकर्मी तालिम लिएका कामदार मात्र राख्न पाउने सरकारी प्रावधानका कारण पनि तालिम लिएका सबैले रोजगारी पाएको र यो संख्या अझै अपुग रहेको एनसेटले जनाएको छ। आवश्यकता र मागको आधारमा एनसेटले आफ्नो कार्यक्षत्र रहेको गाविस तथा नगरपालीकामा डकर्मी तालिम सञ्चालन गर्ने जनाइएको छ। दोलखामा पुनर्निर्माणका लागि ८ हजार ५ सय जना डकर्मी आवश्यक पर्ने पुनर्निर्माण प्राधिकरणले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्