गाउँमा महिलाको नेतृत्व बढ्दै



वीरबहादुर बम, मुगु
विद्यमान कुप्रथा एवं महिला हिंसाका रूपमा जरा गाडेको मध्य र सुदूरपश्चिमकै प्रख्यात छाउपडी प्रथा, बालविवाह, बहुविवाह, बोक्सी समयसँगै समाजमा आएको परिवर्तन र सचेतनाले न्यून बन्दै गएको छ।

बेलाबेलामा हुने किशोरी सचेतानाअन्तर्गत विभिन्न सांस्कृतिक जनचेतनाअन्तर्गतका कार्यक्रम बढ्दै गएपछि पछिल्लो समयमा आएर मुगुमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले मुगुको कालै गाविसमा २०६८ फागुनबाट महिला सशक्तिकरणका सम्बन्धमा निरन्तर कार्य गर्दै आएपछि महिला हिंसाविरुद्धका अभियान र क्षमता अभिवृद्धि कार्यक्रमले पनि महिला नेतृत्व बढ्नुमा सहयोग पुर्याएको छ।

मुगुका २४ गाविसमध्ये रारा, कालै, धैनकोट भिई, नार्थपू गाविसमा मानव अधिकारमा सहयोग पुग्ने गरी कर्णालीका महिलाका लागि न्यायिक आवाज र आधार परियोजना कार्यक्रमले महिला जागरणका कार्यक्रम सञ्चालन हुँदै गएको संस्थाकी महिला विकास बहस समूह सहजकर्ता पुष्पा घर्तीमगरले बताउनुभयो। विगतका वर्षमा महिला अगुवा राम्रो नमानिने सामाजिक परम्परा अहिले मुगुका गाउँमा राम्रो बनेको छ।

सम्पूर्ण निकायमा आफ्नो रवाफ देखाउने पितृ सतात्मक हाम्रो समाजमा पुरुषहरू मदिरा सेवन, भ्रष्टाचार, महिला हिंसा र केही युवा विकास निर्माणमा व्यस्त त केही परिवार पाल्नकै लागि अन्नपानीको जुगाडमा व्यस्त भएपछि कालै गाविसका महिलाले निःशुल्क रूपमा गाउँमा विकासका पूर्वाधार निर्माणदेखि लिएर गाउँमा हुने झगडासमेत मिलाउने गरेका छन्।

सधैं फोहोर र दुर्गन्धित हुने कालै गाविसका तलिकालै, माथिकालै, खनाया, सिडिडलगायतका गाउँमा महिला विकास बहस समूह, किशोरी समूह, गाविस स्तरीय महिला सञ्जाल र महिला आधार केन्द्र स्थापना गरी सो समूहमार्फत् गाउँमा महिला सशक्तिकरण, साक्षरता कक्षा सञ्चालन, बहस सञ्चालन, क्षमता विकास तालिम, रिफलेक्ट क्लास सञ्चालन हँुदै आएपछि गाउँ महिला नेतृत्वमुखी हँुदै आएको प्रगतिशील महिला विकास बहस समूहकी अध्यक्ष खुम्यानी जैसी बताउँछिन्।
घर छोडेर गाईको गोठमा एक्लै सुत्नुपथ्र्यो गोठमा सुतेको अवस्थामा अप्रिय घटनासमेत हँुदै आए पनि कसैले वास्ता नगरेको हाल संघसंस्था खुलेपछि हामीलाई छाउ भएको समयमा घरमा सुत्न समेत कसैले पनि हाल अस्वीकार नगर्ने गरेको समाजमा निःस्वार्थी भएर समाजको काम गरेपछि आजकाल पुरुषभन्दा महिलाले नै समाजमा आइपरेका समस्याको गाँठो फुकाउने गरेको अध्यक्ष शाहीले बताउनुभयो। महिलाले बच्चा जन्माउनेबाहेक अरू केही गर्न सक्दैनन् भन्ने पुरातन सोचलाई मुगु कालैकी महिलाले महिला हिंसाविरुद्ध १६ दिने अभियानको अन्तिम दिनमा पुरुषको अभिनय गर्दै पुरुषको भन्दा बढी जिम्मेवारी लिएर बच्चा जन्माउने देवीको रूपदेखि पुरुषले गर्ने विवाहको जन्ती, मर्दाको मलामी, वेदको बाहुन, बाजा बजाउने, हुडको खेल्ने, हलो जोत्ने, विकास निर्माणलगायतका जोखिमपूर्ण कामसमेत महिलाले अब गर्न सक्ने कुरा सडक नाटक, देउडा, नाचगान, मन्तव्य र्याली र जुलुससमेत कालै गाविसको महिलाले गरेका थिए।

१६ दिने महिला हिंसाविरुद्धको अभियानमार्फत र हालसम्म गरेका महिलाको कार्यमार्फत महिला अगाडि लागेमा समेत अलछिनो हुने भन्ने मान्यताले ग्रस्त पुरातनवादी सोचमा रहेको मुगाली समाज दिनप्रतिदिन सुधारको पक्षमा उभिएको गाविस महिला सञ्जालकी अगुवा गहुँगोरा लावड बताउँछन्।

गाउँका मदिरा सेवन र धूम्रपानमा पुरुषभन्दा महिलाको संख्या न्यून भएपछि केही समय समाजसेवामा खर्चिने भएपछि गाउँमा हुने झगडा र विकास निर्माणमा समेत महिला सहभागिताको संख्या बढेको छ। नजिकै रहेको कालै प्रहरी चौकीमा भन्दा बढी संख्यामा झगडा र गाउँमा तत्काल गर्नुपर्ने निर्णयको बारेमा महिला बहस समूह नै सक्रिय भएपछि स्थानीयको विश्वास जित्दै गई गाउँकी महिलाहरू नेतृत्व पंक्तिमा पुगेकी छन्। महिला हिंसा न्यूनीकरणमा आआफ्नो तर्फबाट सहयोग पुर्याउने ५० महिला एवम् किशोरीलाई कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र मुगुले महिला हिंसाविरुद्धको १६ दिने अभियानमा पुरस्कृत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्