कलाकर्मीलाई सम्मान



परिवर्तन नेपालले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्म क्षेत्रमा योगदान दिने विभिन्न ३ व्यक्तित्वलाई २५ हजार रुपियाँं र प्रमाणपत्रसहित हरितारा चलचित्र पुरस्कार प्रदान गरेको छ। साथै १ जनालाई १० हजार रुपियाँसहित दुर्गादेवी पूर्ण निरौला पुरस्कार र ३ जनालाई परिवर्तन सम्मान प्रदान गरेको छ।

यस वर्षको हरितारा चलचित्र पुरस्कारबाट अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धर, चलचित्र पत्रकार शान्तिप्र्रिय र प्रचार सामग्री डिजाइनर सुन्दर श्रेष्ठलाई पुरस्कृत गरिएको छ भने निर्देशक एवं कलाकार सुवास गजुरेललाई दुर्गादेवी पुण्य निरौला सम्मानबाट सम्मानित गरिएको छ। यसै गरी निर्देशक एवं कलाकार सविन बास्तोला, संगीतकार सन्तोष श्रेष्ठ र डा. श्यामकाजी महर्जनलाई परिवर्तन सम्मान प्रदान गरिएको छ। कार्यक्रममा बोल्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले फिल्म क्षेत्रका व्यक्तिहरूलाई सम्मान प्रदान गरिएको दिन अविस्मरणीय रहने बताए भने अभिनेतृ करिश्मा मानन्धरले यति ठूलो सम्मानबाट सम्मानित हुँदा जिन्दगीकै महत्त्वपूर्ण दिन लागेको बताइन्। ‘म चलचित्र क्षेत्रमा आउनुभन्दा अघि नै यसका संरक्षक मनोज शमशेर जबरा र तारारानी मुवालाई चिन्थें। मलाई अचम्म लाग्छ उहाँले किन चलचित्र क्षेत्रमै सम्मान राख्नुभयो होला? सोचेको पनि थिइन चलचित्र क्षेत्रमा लागेर उहाँले नै स्थापना गर्नुभएको पुरस्कारबाट म सम्मानित हुन्छु भनेर। यस्ता पुरस्कार र सम्मानले गर्दा कलाकारहरूलाई हौसला मिल्छु –करिश्माले भनिन्।

त्यस्तै पत्रकार शान्तिप्रियले पुरस्कार र सम्मानहरूले गर्दा थप जिम्मेवारी बढ्ने बताए। ‘यो सम्मानले जिम्मेवारी बढाएको छ। नेपाली चलचित्रलाई अगाडि बढाउनका लागि सबैको हातोमालोको आवश्यकता पर्छ’ –उनले भने। डिजाइनर सुन्दर श्रेष्ठले सम्मानका लागि आभार व्यक्त गरे। ‘म जस्ता पर्दा पछाडि रहेर काम गर्ने व्यक्तिहरूलाई सम्मान गरेकोमा निकै आभारी छु। ३० वर्षको अवधिमा ९⁄१० हजार फिल्मका लागि भनेर प्रचारप्रसार सामग्री निर्माण गरिसकें र मलाई विश्वास गरी काम दिएकोमा सबै जनालाई धन्यवाद व्यक्त गर्न चाहन्छु, उनले भाववि≈वल हुँदै भने– ‘मेहनतको फल मीठो हुँदोरहेछ।’ कलाकार एवं निर्देशक सुवास गजुरेलले स्थापनाको पहिलो वर्ष नै आफू दुर्गादेवी पुण्य निरौला पुरस्कारबाट सम्मानित भएकोमा आभार व्यक्त गरे।

त्यसै गरी अभिनेतृ वसुन्धरा भुसालले तारा रानीले चलचित्रकर्मीलाई निकै माया गर्ने भएकाले गर्दा आफू नेता भए पनि पहिलो पुरस्कार फिल्मका लागि स्थापना गरेको बताइन् भने फिल्म लेखक, निर्देशक तथा साहित्यकार निर्देशक चेतन कार्कीले संस्कृतको एक श्लोक सुनाउँदै नीतिशास्त्रअनुसार सुनको बाला लाएर मात्र हातको शोभा नहुने र हातको शोभा बढाउन दान नै गर्नुपर्ने चर्चा गरे। गीतकार तथा फिल्मकर्मी यादव खरेलले सम्मान तथा पुरस्कारले गर्दा कलाकारहरूलाई ऊर्जा प्राप्त हुने बताए। खरेलले कलाकारहरूको राजनीतिक यात्राको चर्चा गर्दै उनीहरू देशको उच्च पदमा पुगे भने देशको हालत राम्रो हुने बताए।

प्रतिक्रिया दिनुहोस्