एन्फाको हेलचेक्र्याइँको चपेटामा



थ्री स्टार

(फिरोज राजोपाध्याय) नेपाली राष्ट्रिय फुटबल टोलीले एकपछि अर्को उपाधि भित्र्याएर नेपाली फुटबललाई अन्तर्राष्ट्रिय माझ इज्जत बढाएको छ । यसले नेपाली फुटबलले अझै उचाइ लिने संभावना बढिरहेको पनि छ । राष्ट्रिय टोलीले मात्रै होइन ललितपुरको थ्रीस्टार क्लबले समेत नेपाली फुटबलको उचाइ बढाएको छ । गएको अगस्टमा मंगोलियामा सम्पन्न एएफसी कप २०१७ प्लेअफ छनोटमा थ्रीस्टार समूह को शीर्षटोली बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । थ्रीस्टारले आयोजक मंगोलियाको इर्चिम र कम्बोडियाको नागावल्र्ड क्लबसँग खेलेको थियो । चार अंकसहित थ्रीस्टार प्रतियोगिताअन्तर्गत दोस्रो चरणमा प्रवेश गरेको थियो ।

यो नेपाली फुटबलका लागि गर्वित विषय हो । तर यो खुसीको क्षण अकस्मात दुःखद्मा परिवर्तन भयो । त्यो पनि नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) कै कारण भयो । एन्फाले क्लबको सहभागिताका लागि आवश्यक तयारी पूरा गर्न सकेन । एन्फाले एएफसीले पठाएको चौथो पत्रको जवाफ फर्काएको बेला ज्यादै ढिलो भइसकेको थियो । यसले एएफसीले डिसेम्बर ६ तारिखमा एन्फाको हातमा पत्र ठम्यायो कि थ्रीस्टार सहभागिताबाट वञ्चित भएको भनेर । कसैले पनि विश्वास गर्न सकिँदैन कि एन्फा यस्तो गैरजिम्मेवारीमा रहन्छ भनेर ।

थ्रीस्टारले एएफसी कप प्लेअफ प्रतियोगिता खेल्न तयारीका लागि करोडौं खर्च गरिसकेको अवस्था छ । एन्फाको लापर्वाहीले गर्दा खेल्न नपाएको भन्दै थ्रीस्टारले पनि कडा अडान लिन थालेको छ । नेपालको खेलकुदको क्षेत्रमा यो विवाद सुपर हिट भएको छ । एन्फाले थ्रीस्टार क्लबलाई भूल भएछ भनेर क्षमासहितको पत्र पनि पठायो । तर अहिलेसम्मको खर्च लगानी, ब्रान्ड इमेज, प्लेअफको तयारी खर्च, प्ले अफ जितेमा पाउने रकमको क्षतिपूर्ति सबै गरेर एन्फासँग थ्रीस्टारले ६ करोड को ठूलो रकम माग गरेको छ । क्लबले पत्र एन्फालाई बुझाइ पनि सकेको छ ।

नेपालको राष्ट्रिय लिग च्याम्पियन रहेको थ्रीस्टारले मंगलबार मंसिर २८ गतेको पत्रकार सम्मेलनमार्फत् यो मुद्दाको टुंगो नलागेसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुनेसमेत घोषणा गर्यो । कहिलेसम्म नखेल्ने सो बारे भने कुनै समयसीमा तोकेको छैन । साथै एएफसी कपमा खेल्नबाट बञ्चित भएको विषयको छिनोफानोका लागि पनि क्लबले एन्फालाई कुनै अल्टिमेटम पनि दिएको छैन ।
थ्रीस्टारको अस्वीकार
त्यसो त एन्फाले तीन सदस्यीयको छानबिन समिति गठन पनि गरेको छ । समितिका संयोजक एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का रहेका छन् । एन्फा आफैंले गरेको गल्तीमा एन्फाकै पदाधिकारीलाई समितिमा राखेर छानबिन गराउनु कतिको पारदर्शी हुन्छ त्यो निष्कर्ष सार्वजनिक भएपछि थाहा हुनेछ । तर यसलाई थ्रीस्टारले ठाडै अस्वीकार गरिदिएको छ । थ्रीस्टारका महासचिव सञ्जीव शिल्पकारले यो छानबिन समितिलाई स्वीकार गर्न नसकिने बताएका छन् । सो क्लबका अनुसार राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र युवा तथा खेलकुद मन्त्रालयलाई छानबिन गर्न आग्रह गरिएको छ । उनीहरू निष्पक्ष छानबिन होस भन्नेमा छन् ।

शिल्पकारले भने– ‘छानबिन समिति गठन गर्दा निष्पक्ष हुनुपर्छ । यो एन्फाको छानबिन समिति काम छैन ।’

कोही अगाडि आएन
थ्रीस्टारमाथि यति ठूलो प्रहार हुँदा पनि अन्य ए बी सी डिभिजन क्लबबाट कुनै पनि प्रतिक्रिया आएन । केवल ललितपुरकै क्लब जावलाखेल युथ क्लबले थ्रीस्टारलाई सहायता दिने वचनवद्ध दिएको छ । क्लबका अध्यक्ष ठूलोभाइ केसीले थ्रीस्टारलाई परेको अन्यायको विरुद्ध एकजुट हुन सबै क्लबलाई आग्रह गरेका छन् । थ्रीस्टारकै महासचिव शिल्पकारले समेत क्लबहरूको साझा संस्था क्लबका संघ बनाएर एन्फाविरुद्ध क्लबहरू एकजुट हुन आ≈वान गरेका छन् । तर अहिलेसम्म कुनै क्लब पनि एकजुटमा देखिएको छैन । सायद विगतमा फ्रेन्डस् क्लब र हिमालयन शेर्पा क्लबलाई एन्फाले कार्वाही गर्दा तमासे बन्नु थ्रीस्टारलाई घातकसिद्ध भएको हो कि ?

चार पत्र आएको थियो
एएफसीले एन्फालाई पहिलोपटक सेप्टेम्बर २६ मा पत्र पठाएको थियो । दोस्रो पत्र एक महिनापछि अक्टोबर ३० मा पठाइयो । फेरि नोभेम्बर २१ र नोभेम्बर २५ मा गरी चारपटक पठाएको पत्रको पनि एन्फाले जवाफ नपठाएपछि थ्रीस्टारको खेल्ने सम्भावना कमजोर बनिसकेको थियो । एन्फाले बल्ल डिसेम्बर ५ मा एएफसीको पत्रको जवाफ पठाए पनि त्यो ढिला भइसकेको थियो । प्रतियोगिताका निर्देशक सिन मान गिलले एन्फाका महासचिव धिरेन्द्र प्रधानलाई सम्बोधन गर्दै पत्र पठाइएको थियो । यसमा शायद एन्फाका पदाधिकारीले अंगे्रजी बुझेन भनेर ठट्टा गर्नेहरू पनि भेटिए।

यता थ्रीस्टार क्लबले पत्रबारे बुझ्न एन्फा धाइरहेको क्लबका अध्यक्ष अरुणमान जोशीले बताए । उनले एएफसीको सकारात्मक पत्र आउनेछ भन्दै एन्फाले उनीहरूलाई भनिरहेको बताए । तर एक्कासी एएफसीको वेवसाइटमा जानकारी देख्दा आफूहरू पनि आश्चर्यमा परेको जोशीले बताए । एएफसी कप प्लेअफमा दक्षिण एसियाली क्षेत्रबाट भारत, माल्दिभ्स, बंगलादेश, भुटान र श्रीलंकाका क्लबको स्थान देखिएको तर आफ्नो क्लबको नाम नदेखेपछि एन्फाले ठूलै राजनीति गरेको जोशीले दावी गरेका थिए ।

एन्फाको आशा
एन्फाको अध्यक्षमा गएको कार्तिक ८ गते निर्वाचित भएका नरेन्द्र श्रेष्ठले छलफलबाट कुरा टुंगो लाग्ने आशा राखेका छन् । श्रेष्ठ आफूबाहिर भएको अवस्थामा यस्तो भएको पनि बताए । उनले भने– ‘म केही दिन देशबाहिर थिए । म नहुँदा भएको कुरामा जस्तै भए पनि बहाना बनाउन मिल्दैन । भूल भएकै हो अध्यक्ष भएको नाताले त्यसको नैतिक जिम्मेबारी मैले लिनैपर्छ । हामी छलफलबाट यसको टुंगो लगाउनेमा लाग्नेछौँ । हामी कहाँनेर चुक भयौं त्यो छानबिन समितिले निष्कर्ष निकाल्नेछ ।

थ्रीस्टारले ६ करोड रुपियाँ मागेको बारे श्रेष्ठले भने– ‘६ करोड कसरी मागियो त्यो थाहा भएन । क्षतिपूर्ति माग्ने उनीहरूको अधिकार हो । यसमा के भन्ने ? नखेल्ने भन्ने कुरा चाहि त्यो आवेशमा आएर भनेको हुनुपर्छ । थ्रीस्टार पुरानो क्लब हो शायद वहाँहरूले छलफलमा आउनुभएर नेपाली फुटबललाई बचाउने भन्ने मेरो विश्वास छ ।

एन्फाको रोग पुरानै
नेपालका क्लबहरूसँग एन्फाको सम्बन्ध सुमधुर छैन । विगतमा पनि कति वटा क्लब एन्फाको शिकार बनेका थिए । अहिले थ्रीस्टार एन्फाको चपेटामा आयो । क्लबहरूलाई भनेजस्तो नगरेपछि पन्छाउने एन्फाको यो रोग पुरानै हो । थ्रीस्टारसँग यस्तो लापरवाही अपनाएकोमा आश्चर्यचकित हुनुपर्ने अवस्था पनि छैन । किनभने एन्फाले चलाउन सक्ने क्लब मात्रै लिएर यो संस्था चलिरहने बानी छ । विगतमा यो नेपाली फुटबलको सर्वोच्च निकायका अध्यक्ष गणेश थापा हुँदा हिमालयन शेर्पा क्लब र फ्रेन्डस क्लबलाई खेल्नै नपाउने गरी कारवाही गरेको थियो । केही महिना मात्रै भयो यी दुई ए डिभिजन क्लबको फुकुवा भएको ।

यति मात्रै होइन नेपालका पुराना क्लब रानीपोखरी कर्नर क्लब, आरसीटीको नामले बढी परिचित छ, जसलाई खेल्न दिएन एन्फाले । पैसा छैन भनेर खेल्न छोडेको आरसीटीलाई पैसाको पनि बन्दोबस्त गरिदिएन एन्फाले । एन्फा चाहन्छ नेपालमा फुटबल क्लब एउटै पनि नरहोस् । खेल्न छाडेको आरसीटीले यसपालि बी डिभिजन लिग खेल्यो तर क्लब बी डिभिजनमै अडकिएको छ ।

यस्तै नेपालको अर्को पुरानो क्लब न्युरोड टिम, जसको नाम एनआरटी छ, ले पनि खेल्न नसकिने भनेर प्रतियोगिता खेलेको थिएन । प्रोत्साहनस्वरुप रकम दिएर होस् केही गरेर होस् एन्फाले यी पुराना क्लबलाई बचाउनमा लाग्नुपर्ने थियो । तर त्यो कदम एन्फाले उठाएन फलस्वरुप एनआरटी बी डिभिजनमा झर्यो । हालै बी डिभिजन लिग खेलेर एनआरटी ए डिभिजनमा उक्लेको छ ।

यसरी क्लबको भुलमा क्लबलाई नै कारवाही गर्ने एन्फालाई अहिले महाभुलमा कारवाही कसले गर्ने भन्ने चर्चा पनि चुलिएको छ । नाम नछापिने शर्तमा एक एन्फाका पदाधिकारीले यो केही होइन एन्फाको राजनीति हो भनेर बताएका थिए । सूत्रका अनुसार क्लबले सफलता हात पार्दै गएमा पुरस्कार रकम बाँडिनुपर्ने, खर्च बापत रकम जुटाउनुपर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामा जनाउँदा १० लाख रकम दिनुबाट बच्न थ्रीस्टारप्रति एन्फा अनुत्तरदायी भएको छ । तर जतिसुकै जे बहानाबाजी गरे पनि एन्फाले नेपाली फुटबल समर्थकलाई निराश गरेको छ । यस्तो कार्यले नेपाली फुटबल उकालो होइन ओरालो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्