दिपेन्द्र आउट भएसँगै नेपाल पराजित



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली यू१९ राष्ट्रिय टोलीले श्रीलंकामा शुरू भएको एसीसी यु १९ एसिया कपमा आफनो पहिलो खेलमै जित्न अन्तिम ओभरमा केवल ८ रनको आवश्यक थियो। क्रिजमा जमिरहेका दीपेन्द्रसिंह ऐरीकै ब्याटिङ गर्ने पालो थियो। आयोजक श्रीलंकाका बलरमा प्रवीण जयविक्रामा थिए। पहिलो बलमा दीपेन्द्रले रन लिएनन्। दोस्रो बललाई बाउन्ड्रीमाथिबाट पार गराएका उनी तेस्रो बलमा एलबीडब्ल्यूका सिकार भएपछि नेपाल श्रीलंकासँग एक रनले पराजित भयो।

यो नतिजासँगैं श्रीलंकालाई हराउने मौका गुमाउनुका साथै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अवसर पनि झण्डै झण्डै समाप्त पारेको छ। समूह ए मा रहेको नेपालले श्रीलंका र मलेसियालाई हराएर अन्तिम चारमा जाने लक्ष्य लिएको छ। तर पहिलो खेलमै हारेपछि नेपाली टोलीको अन्तिम चारको आशा कम बनेको छ। बिहीबार नै सम्पन्न यसै समूहको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन भारतले मलेसियालाई २ सय ३५ रनको फराकिलो अन्तरले हराएको छ।

कोलम्बोको नन्देस्क्रिप्टस् क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षेतिमा २ सय २७ रन जोडेको थियो। नेपाली बलरमा कमलसिंह क्षेत्रीले पहिलो बलमै नेपाललाई सफलता दिलाएका थिए। उनले चतुरांगालाई एलबीडब्ल्यू आउट गरेका थिए। यसपछि विकेट लिन ढिलाई हुँदा आयोजक टोलीले राम्रो स्कोर खडा गरेको थियो। नेपाली बलरमा कमलसिंले तीन विकेट लिए भने पवन शराफले दुई विकेट लिएका थिए।

ब्याटिङमा नेपालको शुरू आत नै कमजोर बनेको थियो। ५ रनको लागि नेपालले दुबै ओपनरलाई गुमाइसकेको स्थिति थियो। सन्दीप सुनार २ रनमा र आसिफ शेख १ रनमा पवेलियन फर्केका थिए। भीम सार्की ८ रन बनाएर आउट हुँदा टोली ३२ रनमा पुगेको थियो। यसपछि म्यान अफ द म्याच दिपेन्द्रले खुलेर खेल्न थालेका थिए। उनले अर्को इन्डमा विकेट गुमिरहँदा पनि आफनो इन्ड बचाइरहेका थिए।

९० रनमा आउट भएका दिपेन्द्रले ९ चौका र एक छक्का प्रहार गरेका थिए। उनलाई साथ दिनेमा आदिल खानले ३९ रन र अविनास कर्णले ४० रन बनाएका थिए। अन्य क्रिजमा टिक्न नसक्दा दिपेन्द्र एक्लैले जित दिलाउन खोजेको अभियान अन्तिम ओभरको तेस्रो बलमा समाप्त भएको थियो। नेपाली टोली २ सय २६ रनमा अलआउट भएको थियो।

प्रतिक्रिया दिनुहोस्