एनसेलको साप्ताहिक रोमिङ डेटा प्याक र ट्रान्जिट पास सेवा



काठमाडौं, (नेस)

एनसेलले विदेश भ्रमणमा जाने ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै साप्ताहिक रोमिङ् डेटा प्याक र रोमिङ ट्रान्जिट पास नामक सेवा ल्याएको छ। साप्ताहिक रोमिङ डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि ५ रुपियाँ प्रतिएमबीसम्मको शुल्कमा डेटा प्रयोग गर्न सक्छन्। ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्दछ।

यी दुई सेवा पुस १ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत ग्राहकले १५ सयमा २५० एमबी डेटा र ५ हजारमा एक जीबी डेटा खरिद गर्न सक्नेछन्। त्यसैगरी रोमिङ ट्रान्जिट पास लिने ग्राहकले ५ सयमा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटा प्रयोग गर्न सक्छन्। यी सेवाअन्तर्गतका सबै शुल्क करसहित रहेको एनसेलले जनाएको छ।

साप्ताहिक रोमिङ् डेटा प्याक भारत, चीन, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कीलगायत ५० भन्दा बढी देशमा लागू हुनेछ। त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चीन, बंगलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिंगापुर, थाइल्यान्ड र टर्की लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागू हुनेछ।

एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार साप्ताहिक रोमिङ् डेटा प्याक सुचारु गर्न सक्छन्। रोमिङ सेवा सुचारु गर्न एनसेलका प्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरी ९००२२८ मा एसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले एनसेल सेन्टरमा गई वा आफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन्। साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सातदिनको लागि मान्य हुनेछ।

रोमिङ ट्रान्जिट पास अफर अन्तर्गत एनसेलका ग्राहकले ट्रान्जिटमा आठ घण्टासम्म निरन्तर डेटा कनेक्सन हुने छ। यो सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरी रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन्। आठ घण्टाको समयावधिपश्चात सम्बन्धित देशका लागि तोकिएको विद्यमान पे एज यु गो दर अनुसार डेटा शुल्क लाग्नेछ।

ग्राहकले विदेश भ्रमणमा रहँदा महशुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरू ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भन्नुभयो। आफ्नो आवश्यकता बमोजिम ग्राहकले जतिपटक पनि साप्ताहिक रोमिङ डेटा प्याक लिन सक्छन्। ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकमा कति डेटा बाँकी छ भनेर हेर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्