कान्ति लोकपथका ठेकेदारको ध्यान ग्राभेल र ढुंगाको बिक्रीमा



सुरेश तामाङ
न्ति लोकपथको सडक चौडा गर्न जिम्मा पाएको कम्पनीका ठेकेदारहरूले त्यहाँ निस्किएका ग्राभेल तथा ढुंगा अवैधरूपमा अन्यत्र लगेर बेच्ने गरेको पाइएको छ ।
नियमअनुसार सडक चौडा गर्दा निस्किएका ग्राभेल र ढुंगा त्यहीं सडक निर्माणका लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्नुपर्ने र त्यो सामग्री अन्त लगेर बेच्न पाइँदैन ।

ती कच्चा पदार्थलाई त्यहीं प्रयोग गर्नका लागि ठेकेदार कम्पनीले तोकिएको स्थानमा व्यवस्थित गरेर राख्नुपर्ने हुन्छ तर त्यसो गर्नुको साटो क्रसर उद्योगमा पेल्ने र डिपो स्थापना गरेर बिक्री गर्ने गरिएको स्रोतले बतायो । कान्ति लोकपथ परियोजनाअन्तर्गत सडक चौडा गर्ने काम भइरहेका सडक खण्डहरू टीकाभैरब–तीनपाने भञ्ज्याङ, तीनपाने भञ्ज्याङ–झाँग्रीडाँडा–भट्टेडाँडा र बगुवा–मासखोलामा यस्तो क्रियाकलाप भइरहेको स्रोतको दाबी छ ।

कान्ति लोकपथ परियोजनाका अनुसार टीकाभैरब–तीनपाने भञ्ज्याङ सडकखण्डको जिम्मालिएर गोल्डेन गुड⁄पीएस जेभीले, तीनपाने भञ्ज्याङ–झाँग्रीडाँडा–भट्टेडाँडा हनुमान कन्स्ट्रक्सनले र बगुवा–मासखोलामा मोतीदान⁄दि कञ्चनजंघा जेभीले काम गरिरहेका छन् । स्रोतले दिएको जानकारीअनुसार हनुमान कन्स्ट्रक्सन कम्पनीका ठेकेदारहरूले एक वर्षअघिदेखि टीकाभैरबमै डिपो खोली सडक चौडा गर्दा निस्किएका ढुंगा तथा ग्राभेललाई थुपार्दै बेच्दै आएका छन् ।

त्यस्तै, गोल्डेन गुड⁄पीएस जेभीका ठेकेदारले सडक चौडाका क्रममा निस्किएका ढुंगा तथा ग्राभेललाई आफ्नैलगायत अरूको क्रसर उद्योगमा बेच्ने गरेको पाइएको छ । ठेकेदारहरूले दिनहुँजस्तो सैयौं ट्रिपर त्यहाँबाट निकासी गर्छन् । यो कार्य दिनदिनै बढिरहेको स्थानीयको भनाइ छ । तर, आयोजनाले भने ठेकेदारको यस्तो मनपरी व्यवहारलाई अस्वीकार गरेको छ ।

‘ठेकेदारले दिनहुँ ढुंगा ओसार्छन् भन्नेचाहिँ म पत्याउँदिनँ, आयोजनाका सूचना अधिकारी नातिबाबु खड्काले भन्नुभयो– राति यस्तो भएको भए थाहा छैन ।
त्यहाँ काम गर्दा निस्किएका ढुंगा ग्राभेल यहीं प्रयोग गर्नका लागि कच्चा पदार्थ चाहिन्छ, उहाँले भन्नुभयो– हामीले त्यहीअनुसार ठेकेदारहरूलाई भनेका छौं ।
उहाँका अनुसार गोल्डेन गुड⁄पीएस जेभीकम्पनीका ठेकेदारमध्येका एकले त्यहीं प्रयोग गर्न गिट्टी पेल्न क्रसरसम्म ढुंगा तथा ग्राभेल लैजान अनुमति मागेका थिए । तर, आयोजनाले त्यहाँ प्रयोग गर्नेबाहेक अन्य ठाउँमा बेच–विखन गर्ने नियतले निकासी गर्न नपाइने स्पष्ट पार्यो ।

‘हामीले त्यहाँका कच्चा पदार्थ बेच–विखनगर्न कसैलाई अनुमति दिएका छैनौं –आयोजनाका सूचना अधिकारी खड्काले भन्नुभयो । हामीले अनुमति दिनै मिल्दैन । यदि ठेकेदारले त्यसो गरेको सत्य हो भने हामी कारबाही गर्छौं । आगामि २ वर्षभित्र काठमाडौं–हेटौंडा (९० किमि) सडक सञ्चालनमा ल्याउने उद्देश्यले सडक चौडा गर्ने काम भइरहेको र कालोपत्रेका लागि समेत सम्झौता भइसकेको आयोजनाले जनाएको छ ।

तर, आयोजनाले नै दिएको जानकारीअनुसार सडक चौडाको काम ८५ प्रतिशत सम्पन्नभएको भनिए पनि ठेकेदारहरूको ध्यान सडक चौडातिरभन्दा पनि जहाँ ढुंगा खन्न सजिलो हुन्छ त्यहाँ खनेर क्रसर उद्योग तथा डिपोमा थुपारेका छन् । यो क्रम विगत १ वर्षदेखि निरन्तर भइरहेको स्थानीयहरूले बताएका छन् । ठेकेदारहरूले यी सामग्रीहरू नख्खु करिडोर भएर शहरी क्षेत्रमा पुर्याउँछन् । त्यस्तै निर्माण व्यवसायीले माटोलाई व्यवस्थित गरेर राख्नुको साटो जथाभावीरूपमा फालेको स्थानीयको आरोप छ ।

आयोजनाका प्रमुख देवेन्द्र शाहले अब छिट्टै अनुगमन गरेर दोषी भेटिएमा कारबाहीको दायरामा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो– ठेकेदारले त्यस्तो गरेको सूचना आएको छैन । तापनि यस बारेमा बुझ्छौं ।

प्रतिक्रिया दिनुहोस्