हेटौंडाका संगीतलाई फिलिपिन्समा फस्ट रनर्सअपको उपाधि



हेटौंडा, (नेस)। फिलिपिन्समा भएको मिस्टर टुरिजम वल्र्डमा नेपालबाट सहभागी हेटौंडा–१०, भुटनदेवी मन्दिर रोडका संगीत श्रेष्ठ फस्ट रनर्सअप हुन सफल भएका छन्।

गत शनिबार फिलिपिन्समा आयोजित फाइनल स्पर्धामा संगीतले फस्ट रनर्सअप उपाधि चुमेका हुन्। प्रतियोगितामा १८ देशका प्रतिनिधि सहभागी थिए। सन् २०१२ मा मिस्टर नेपाल प्रतियोगितामा रनर्सअप हुन सफल संगीतले ५ हजार अमेरिकी डलर पुरस्कार पाएका छन्।

प्रतियोगितामा म्यानमारका ओक्कार मीन माउङ्ले मिस्टर टुरिजम वल्र्ड २०१६ को उपाधि जिते। हाल अस्ट्रेलियामा बीबीए र टुरिजम अध्ययन गरिरहेका संगीतले हेटौंडा–५ स्थित जीएस निकेतन माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका हुन्। दश जोड दुई तहको शिक्षा सिंगापुरबाट पूरा गरेका संगीतले काठमाडौंस्थित एपेक्स कलेजबाट ट्राभल⁄टुरिजम विषयमा स्नातक तह अध्ययन पूरा गरेका थिए। करिब २५ वर्षीय संगीत प्रतियोगितामा सहभागी भएर पुनः अस्ट्रेलिया फर्कने उनका पिता सुदेशकुमार श्रेष्ठले जानकारी गराए। संगीत करिब डेढ वर्षदेखि अस्ट्रेलियामा छन्।

प्रतिक्रिया दिनुहोस्