जागिर खाने रहर



राज्य पुनर्संरचना आयोगका पदाधिकारी पनि कस्ता मान्छे रोजेर बनाइएको रहेछ भनेर धरहरा वरपर अचेल निकै चर्चा हुन थालेको छ। कहिले के भन्छन् कहिले के भन्छन् ? रमाइलो गरिरहन्छन्। धरहरा वरपर आएर केही मान्छेले यसो भनिरहेको देखेर धरहराले पनि आफ्नो दूरबिन त्यसतर्फ सोझ्याएको त उनीहरू काम भन्दा कुरा बढी गर्दा रहेछन्। केही समयअघि सुनिल रञ्जन सिंहले राजीनामा दिने कुरा गरेर चर्चामा आए। अलिपछि राजीनामा होइन भनेर चर्चामा आए। अहिले फेरि २ नम्बर प्रदेशको संयोजकबाट राजीनामा दिएको कुरा गरे।

धरहरा वरपर चाहि धेरैको अनुमान रहेछ , यिनले सदस्य पदबाटै राजीनामा देलान्। तर, उनीहरूको अनुमान फेल खाएछ। काम नगरीकन खुरुक्क पैसा बुझ्न पाइने जागिर उनले के छोड्थे ? गफ दियो। जागिर खायो, बस्यो। यतिका महिनासम्म प्रतिवेदन बुझाउन के ले रोकेको थियो। २ नम्बर प्रदेशमा काम गर्न सकिएन भने किन सकिएन ? सुरक्षा देऊ भनेर उनले पहिला नै सरकारलाई भन्न सक्थे। सरकारले सुरक्षा नदिएको भए पत्रकार सम्मेलन गरेर जनतासमक्ष कुरा राख्न सक्थे। भन्दा पनि नभन्ने अनि सुरक्षा भएन भनेर गनगन गर्ने ? काम पनि नगर्ने। क्या काइदाको जागिर ? यस्तो जागिर पाए त निर्जीव नै भए पनि यो धरहराले पनि मजाले खाइदिन्थ्यो। लु न कसलाई सोर्सफोर्स लगाउने होला!

प्रतिक्रिया दिनुहोस्