धार्मिक दंगा भड्काउने प्रयास



१ को मृत्यु, सुरक्षा निकायद्वारा कडा निगरानी
कुमार श्रेष्ठ, बाँके

बाँकेको मटेहियामा हिन्दू र मुस्लिम समुदायबीच दंगा भड्काउने प्रयास भएको छ। दुई पक्षका बीच सोमबार राति झडप हुँदा एकको मृत्यु भएको छ। मोहम्मद डे मनाउने क्रममा भएको झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन्।
घाइतेमध्ये पाँच जनालाई मंगलबार थप उपचारका लागि काठमाडौं पठाइएको छ।
मटेहियाको भगवानपुरमा पुगेको मोहम्मद डेको जुलुस र स्थानीयका बीचमा झडप भएको थियो। जुलुसमा सहभागी र स्थानीयका बीचमा झडप हुँदा नरैनापुरका मुनिजर खाँको मृत्यु भएको छ। झडपमा घाइते सात जनालाई नेपालगन्जका दुई अस्पतालमा ल्याइएको थियो। तीमध्ये नर्सिङहोममा रहेका बाजहुल कमर, अजगर अलि घोसी, महम्मुद सइद खाँ, समीर अहमद शेष र सल्मान खानलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। भेरी अञ्चल अस्पतालमा दुलारे यादव र शिवप्रसाद काँदुको उपचार भइरहेको छ।

मटेहियामा यसअघि पनि धेरैपटक यस्ता झडप भइसकेका छन्। सम्भावित घटनालाई ध्यानमा राखेर नेपालगन्जबाट २५ जना प्रहरी बिहानै पठाइएको थियो। नरैनापुरबाट आएको जुलुस मटेहिया गाउँ पस्नेबित्तिकै ‘पुरानो तुस पोखिएको थियो। २०६३ देखि नै त्यहाँ यसप्रकारका धक्कामुक्का हुँदै आएको छ।

प्रहरीले तत्काल लाठी चार्ज र हवाई फायर गरेर झडपकारीलाई भगाएपछि घटनाले उग्ररूप लिन पाएको थिएन। प्रहरीले आठ राउन्ड हवाई फायर गरेको थियो। त्यसलगत्तै जिल्लाबाट एसपी टेकप्रसाद राई र सशस्त्रका एसपी राजु अधिकारीको नेतृत्वमा ठूलो फौज घटनास्थलमा पुगेको थियो। एसपीको टोली रातभरि नै त्यहीं खटिएको छ। रातिदेखि नै प्रहरीले त्यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाएपछि थप अप्रिय घटना हुन पाएको छैन।

मंगलबार दिनभरि नै राप्तीपारीका विभिन्न गाविसका जनताहरू उकुसमुकुस भएर बसेका छन्। ठूलो फौजमा रहेको प्रहरीले जुलुसहरू निकाल्न दिएको छैन। एसपी राईले नरैनापुर, मटेहिया, कालाफाँटा सबैतिर पुगेर त्यहाँका अगुवालाई यसप्रकारको लडाइँमा हारमात्रै हुने भएकाले बदलाको भावना त्यागेर मिल्न आग्रह गरिरहेको बताउनुभयो। सीमावर्ती क्षेत्र भएकाले पारीबाट अपराधी घुस्न सक्नेतर्फ पनि प्रहरी सजग भएको छ।

एसपी राईले भारतीय सीमावर्ती जिल्लाका समकक्षीलाई फोन गरेर नाकामा निगरानी बढाइ दिन आग्रह गर्नुभएको छ।

मटेहियाको घटनाले गर्दा जिल्लाका अन्य ठाउँमा असर पर्नसक्नेतर्फ स्थानीय प्रशासन सजग भएको छ। नेपालगञ्जमा सुरक्षास्थिति बढाइएको छ। नेपालगञ्जमा यस प्रकारका ठूल्ठूला झडप भइसकेकाले यहाँ सबै सचेत रहेका छन्। धार्मिक गुरुहरूले सद्भाव कायम राख्नका लागि अपिल गरेका छन्।

जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर धार्मिक गुरुहरूले संयुक्त अपिल गरेका हुन्। इस्लामका गुरु मौलाना अब्दुल जब्बार मन्जरी र हिन्दू धर्मका गुरु महन्थ चन्दनाथ योगीले विगत वर्षहरूदेखि रहँदै आएको धार्मिक सद्भाव र शान्ति सुरक्षालाई कायम राख्न र कोही कसैले सामाजिक सद्भाव खलबलिने कार्य नगर्न अपिल गर्नुभयो। संयुक्त अपिलमा घाइतेको उपचार र घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ। धर्मगुरुहरूले मृतकका आफन्तप्रति समवेदना प्रकट गर्दै क्षतिपूर्तिकोसमेत माग गरेका छन्। विभिन्न पार्टी, अधिकारकर्मीहरूले विज्ञप्ती निकालेर राप्तीपारिका गाविसमा सद्भावका कायम राख्न अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्