योमरी पुन्ही मनाइयो



पुष्कर बुढाथोकी, भक्तपुर
मंगलबार भक्तपुरका नेवार समुदायले समय सूचक चाड एवं दान पर्वका रूपमा योमरी पुन्हीमा मनाएका छन्। धार्मिक विश्वासअनुसार हिजोको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिने गरिन्छ। धान्य पूर्णिमा अर्थात् योमरी पुन्हीको अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ।

मल्लकालदेखि यो पर्वमा मंगलबारको दिन कुनै पनि चिज दान गर्दा पूण्य प्राप्त हुने विश्वासले योमरी लिने र दिने परम्परा रहेको हो। मंसिर पुसको जाडोमा योमरी दान गर्ने चलनसमेत रहेको छ। मंगलबारको दिन बिहानैदेखि योमरी चढाएर पूजा गर्नेहरूको शिवालयमा भीड लाग्ने गर्छ ।

तिहारमा द्यौसी⁄भैलो खेलेझैं टोलटोलका घरघरमा गएर युवायुवतीले गीत गाउँदै योमरी माग्ने प्रचलन छ। योमरी पुन्हीका दिन गृहणीहरू शुद्ध भएर चामलको पीठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी त्रिकोण आकारमा बनाइ पानीको बाफमा पकाउने गरिन्छ।

पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ। यसो गर्दा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ। परम्पराअनुसार योमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा योमरी पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन रहेको छ।

योमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा समेत लिइन्छ। आजको दिनलाई सकिमना पुन्ही अर्थात् पिडाँलु उसिन्ने पूर्णिमाका रूपमा पनि नेवार समुदायले मनाउने गर्दछन्। आजका दिन पिँडालु र सख्खरखण्ड उसिनेर खाने गर्दछन्। योमरी र पिँडालु खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता रहेको छ।

किम्बदन्तीअनुसार पांचाल देश (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे। उनका दम्पत्ति भगवान् विष्णुका परमभक्त थिए। उनीहरूको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुवेर गरिव ब्राहम्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे। सुचन्द्रका श्रीमतीले ब्राहम्णरूपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको योमरी खुवाए।

उनको सत्कारदेखि प्रशन्न भई कुबेरले आफ्नो असली रूप देखाइ योमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पूजा गरी योमरी चढाउने विधि बताएर गए। सोहीअनुरूप सुचन्द्र दम्पत्तिले योमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पतत्ति वृद्धि भयो र योमरी खाएका कारण शरीरसमेत हृष्टपुष्ट हुन थाल्यो।

विस्तारै यो कुरा जताततै फैलिएपछि त्यही बेलादेखि नेवार समुदायमा योमरी पूर्णिमाको सँस्कृति विकास भएको देखिन्छ। धनसम्पत्ति वृद्धि र धनधान्य वृद्धि हुने विश्वासले नेवार समुदायमा योमरी पूर्णिमाका दिन सबैले योमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गर्दछन्। नेवार समुदायमा क्षमताअनुसार पैसा, धान, चामल र योमरी दान गर्ने प्रचलन रहेको छ।

योमरी नयाँ धानको चामलको पीठोबाट बनाइन्छ। योमरी भगवतीलाई अन्नपूर्ण देवीको प्रतीकका रूपमा पनि लिइन्छ। यस दिन नेवार समुदायले योमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः महादेव, पार्वतीलगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र भण्डार कोठामा चढाएपछि मात्र आफूले खाने चलन रहेको छ। यसरी योमरी चढाउँदा आफ्नो अन्नमा वृद्धि हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रहिआएको छ।

मध्यपुर थिमिका आर्थिक अभावका कारण यस्ता कला संस्कृतिहरू लोप हुन थालेको बताउनुहुँदै सञ्चारकर्मी रामकृष्ण शंखदेवले नगरपालिकाले आवश्यकताअनुसार ध्यान दिन नसकेको चिन्तासमेत व्यक्त गर्नुभयो। नेवार जातिले नयाँ धान घर भित्र्याएपछि यसै दिन विभिन्न नयाँ परिकार बनाएर खाने चलन रहेको स्थानीयको भनाइ छ। संस्कृतिविद् अ‍ोम धौभडेलले योमरी पूर्णिमालाई जाति विषेशको चाड मात्र नभनी देशभरि नै फैलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्