आँट छ ?



अमेरिकी डीभी परेर पनि मसक्क मस्किँदै अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका खरेल थरका एक जना एसपीको कुरा पत्रिकामा लिक भएपछि अन्य डीभी–पीआरधारी कर्मचारीको पनि सातो गएको धरहराले पत्ता लगाएको छ।

कतिपयले कार्यालयमा जानकारी नगराए पनि आफूले पहिला नै (कानुन बन्नुभन्दा पहिला) नै प्रयास गरेको अहिले भयो भन्नुपर्ला भन्ने योजना बनाएको जानकारी पनि धरहराले प्राप्त गरेको छ। जे भए पनि कानुन राम्रो बनेको हो है पाठकवृन्द। अरू देशमा जाने योजना बनाएर यता पनि फाइदा लुट्न खोज्नेलाई त रोक्नैपर्ने हो। ठीक भएको छ। बरु थप छानबिन गर्नका लागि सरकारले एकपटक प्रयास गर्नुपर्ला। डीभी पीआर परेका सांसदहरू को को छन्, कर्मचारी को को छन्? प्रहरी र सेनामा को को छन्? पत्ता लगाऊ। विदेशी नागरिकलाई मुलुकको गोपनीयता भंग हुन सक्ने स्थानमा ठाउँ दिनुहुन्न।

पहिल्यै नै थाहा पाइएकाहरूमध्ये कतिले छोडे? कति अझै लुकाइरहेका छन्? कतिले यता काम छोडे? त्यसको जानकारी लिन जनता आतुर भएको धरहरा वरपरको चर्चाबाट नै थाहा हुन्छ। सक्षम नागरिकहरू जागिर नपाएर भौंतारिइरहेका छन् तर देशको माया नहुनेहरू जिम्मेवार ठाउँमा रहेर ओगट्ने काम गर्नुभएन। सरकारले छानबिन गरेर चाँडो प्रतिवेदन सार्वजनिक गरोस् भनेर माग राख्ने धेरै बढेको धरहराले देखेको छ। जनताको आवाज सुन्ने कसैको आँट छ कि?

प्रतिक्रिया दिनुहोस्