रोनाल्डो चौथोपटक उत्कृष्ट



लन्डन, (एजेन्सी)

लियोनल मेसीलाई पछि पार्दै पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बालोन डी अरको उपाधिमा चौथोपटक कब्जा जमाएका छन्।रोनाल्डोले पोर्चुगललाई यसै वर्ष युरो २०१६ को उपाधि दिलाएका हुन्। उनले पहिलो पटक आफ्नो राष्ट्रलाई युरोपियन ट्रफी जिताएका थिए। पहिलो पटक युरोकपको उपाधि दिलाउन भूमिका खेल्नुका साथै उनले ला लिगा क्लब रियल मेड्रिडलाई कीर्तिमानी ११औं पटक च्याम्पियन्स लिगको उपाधि दिलाए। रोनाल्डोले लियोनल मेसीलाई पछि पार्दा तेस्रो स्थानमा फ्रेन्च खेलाडी एन्टोनी ग्रीजम्यान परेका थिए। फ्रान्स फुटबल म्यागाजिनले प्रदान गर्ने अवार्डमा यस पटक ३० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो।

विश्वभरका १ सय ७३ पत्रकारहरूले बालोन डे अर अवार्डका लागि भोट गरेका थिए। ३० मध्ये १९ खेलाडीले भोट प्राप्त गर्दा ११ खेलाडीको नाममा एक मत पनि परेन। तर संख्याको हिसाबले रोनाल्डो अझै अर्जेन्टिनी खेलाडी मेसीभन्दा एक अवार्डले पछि छन्। मेसीले गत वर्ष पाँचौं बालोन डीअर अवार्ड जितेका थिए। रोनाल्डोले भने सन् २००८, २०१४ र २०१५ मा सो अवार्ड हात पारेका थिए। सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले जितेयता यो अवार्ड मेसी र रोनाल्डोले पालै पालो जित्दै आएका छन्।

सन् २०१० देखि २०१५ सम्म फ्रान्स फुटबलले फिफासँग मिलेर संयुक्तरूपमा फिफा बालोन डे अर अवार्ड प्रदान गरेको थियो। तर यसै वर्षदेखि फिफा र फ्रान्स फुटबलले छुट्टाछुट्टै अवार्ड दिन थालेका हुन्। सन् १९५६ मा पहिलोपटक प्रदान गरिएको बालोन डे अरको यो ६१औं संस्करण हो।

हाल क्लब वल्र्ड कप खेल्न जापानमा रहेको रोनाल्डो अवार्ड समारोहमा उपस्थित थिएनन्। उनलाई फ्रान्स फुटबल म्यागेजिनले पहिल्यै भेटेर अवार्डसँगै फोटो खिचाएका थिए।

प्रतिक्रिया दिनुहोस्