दोर्दी जलविद्युत् आयोजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य



लमजुङ, (नेस)

एक वर्षभित्र दोर्दी जलविद्युत आयोजना सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्र पारिएको प्रवद्र्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडले जनाएको छ। २७ मेगावाट क्षमताको सो जलविद्युत आयोजना लमजुङको पूर्वी क्षेत्रमा बहने दोर्दी करिडोरमा निर्माण भइरहेको छ। ढोडेनी गाविस– २ र बन्सार गाविस–१ को ढोडेनीबेंसीमा बाँध बाधेर चिती गाविस–७ को रामचोक फाँटमा पावर हाउस निर्माण गरी विद्युत् उत्पादन गर्ने गरी आयोजनाको निर्माण कार्य तीव्र चलिरहेको आयोजना प्रमुख रामचन्द्र पौडेलले बताउनुभयो।

उहाँका अनुसार ४ अर्ब २३ करोड रुपियाँको लागतमा २०७४ को असारमा विजुली बाल्ने गरी निर्माण कार्य थालिएको थियो। तर, भूकम्प, नाकाबन्दीका कारण ६ महिना निर्माण अवधि लम्बिएर पुस मसान्तमा आयोजनाले व्यावसायिक उत्पादन थाल्ने लक्ष्य लिएको छ।

आयोजनाको २५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाका कार्यकारी अधिकृत गुरूप्रसाद ढकालले बताउनुभयो। उहाँका अनुसार २ दशमलव ७ किमी पाइपलाइन र २ दशमलव ६५ किमी टनेल रहने छ। सो आयोजनाको निर्माणमा ५१ प्रतिशत खर्च एनआरएन समूह र ४९ प्रतिशत आइएमई समूहले लगानी गर्ने जानकारी दिनुभयो।

त्यस्तै आयोजनामा नबिल बैंकको नेतृत्वमा प्राइम, लक्ष्मी, एभरेष्टलगायतका बैंकले ऋण लगानी गर्ने ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार पेनस्टकको निर्माण १० प्रतिशत, टनेलको निर्माण १० प्रतिशत, ड्यामसाइडको निर्माण काम ४० प्रतिशत पूरा भएको छ।

यसअघि लमजुङका ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना र ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्