भोलिदेखि ऊर्जा सम्मेलन



नेपाल समाचारपत्र
काठमाडौं
नेपालको जलविद्युत् क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने उद्धेश्यले भोलिदेखि राजधानीमा दुई दिने ऊर्जा सम्मेलन आयोजना हुने भएको छ। सरकारको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई मूर्तरूप दिन सरकारको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) को आयोजनामा मंसिर ३० गते र पुस १ गते ऊर्जा सम्मेलन हुने भएको हो।

सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार मेगावाट जलविद्युत् उत्पादनको विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सरकारले गत वर्ष ९९ बुँदे कार्ययोजनासहित १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जा संकटकाल घोषणा गरेर ऊर्जा क्षेत्रमा लगानी जुटाउने घोषणा गरेको थियो। नेपाल, भारत, चीन, दक्षिण कोरिया, जापान, नर्वे, अमेरिका, बेलायत, अष्ट्रेलियालगायतका देशका जलस्रोत विज्ञ, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नेपालस्थित दातृ निकायका प्रतिनिधिसहित ५०० जनाको सहभागिता हुने जनाइएको छ।

आन्तरिक लगानी, वैदेशिक लगानी एवम् वित्तीय व्यवस्थापनलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै ऊर्जा सुरक्षाको अवधारणा, विद्युत् माग एवम् आपूर्ति व्यवस्थालगायतका विषयमा समेत छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्