पुटिनका घनिष्ट रेक्स टिलरसन अमेरिकाको नयाँ विदेशमन्त्रीमा चयन



वासिङ्टन, (एजेन्सी)

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टोलीमा विदेशमन्त्रीको कार्यभार सम्हाल्न रेक्स टिलरसनलाई नियुक्त गरेका छन्। विदेशमन्त्रीका लागि चयन भएका टिलरसनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध रहेको छ।

टिलरसनको अन्य देशका उच्च पदस्थसँगको कुराकानीमा व्यापक अनुभव रहेको मानिन्छ। यद्यपि उनको यो वार्ता नेताका रूपमा नभएर एक जना व्यापारीका रूपमा हुने गरेको थियो।

ट्रम्पले उनलाई देशको भावी विदेशमन्त्री बनाउने घोषणा गरेका छन्। टिलरसन विश्वको सबैभन्दा ठूला कम्पनीमध्यको एक एक्सनका मुख्य कार्यकारी अधिकारी हुन्। तेल कम्पनी एक्सनको कारोबार विश्वका दर्जनौं देशमा फैलिएका छन्। तीमध्य अमेरिकासँग सुमधुर सम्बन्ध नभएका मुलुकहरू पनि पर्छन्। तेल प्रसोधानको प्रविधिका लािग पश्चिमी देशमा निर्भर रहेको रुससँग पनि यसको अत्यन्त निकट सम्बन्ध रहेको छ।

टिलरसनलाई विदेश मन्त्री बनाउने घोषणाले यस विषयलाई लिएर अमेरिकी राजनीतिमा चिन्ता थपेको छ। किनभने विगत केही दिनमा अमेरिकी गुप्तचर प्रतिवेदनमा अमेरिकी राष्ट्रपतिको चुनावका क्रममा रुसले हस्तक्षेप गरेको चर्चा भइरहेको छ। उक्त हस्तक्षेपले ट्रम्पलाई राष्ट्रपतिको चुनावमा मद्दत मिलेको भन्ने विषय पनि राजनीतिवृत्तमा विवादित बनिरहेको छ। यद्यपि ट्रम्पले उक्त आरोपलाई अस्वीकार गरेका छन्।

टिलरसनले विगतमा अमेरिका र अन्य पश्चिमी देशले रुसमाथि लगाएको प्रतिबन्धको विरोध गरेको समाचार एजेन्सी एपीले जनाएको छ। रुसले क्रिमियालाई युक्रेनबाट अलग्याएपछि सन् २०१४ मा उनले उक्त प्रतिबन्धको विरोध गरेका थिए। टिलरसन खुला व्यापारका समर्थक हुन् र मध्यपूर्वमा अमेरिकी उपस्थितिलाई बढाउनुपर्ने पक्षधर पनि हुन्। तर उनको यो विचार भने ट्रम्पसँग मेल खाँदैन। सन् २०१३ मा क्रेमलिनले टिलरसनको सम्मानित गर्दै अर्डर अफ फ्रेन्डसिप प्रदान गरेको थियो।

टेक्ससको विचिता फल्सका ६४ वर्षीय टिलरसनले एक्सन कम्पनीबाटै आफ्नो करियर शुरू गरेका थिए। उनले सन् १९७५ मा युनिभर्सिटी अफ टेक्ससबाट इन्जिनियरिङ डिग्री हासिल गरेपछि एक्सनमा आबद्ध भएका थिए। विस्तारै उनी अधिकृत हुँदै एक्सनको अमेरिका, रुस र यमनका परियोजनामा काम गरेको अनुभव प्राप्त गरे।

९० को दशकसम्म टिलरसन एक्सनको सबै विदेशी अभियानलाई हेर्थे। उनले रुसको पूर्वी तटमा साखालिन तेल तथा ग्यास परियोजनामा एक्सनका तर्फबाट महत्त्वपूर्ण भूमिका निभाएका थिए। त्यसपछि एक्सन र रुसी सरकारी कम्पनी रोसनेफ्टबीच रुसको आर्कटिक प्रान्तमा तेल खोजका लागि ३ अर्ब २० करोड डलरको सम्झौता भएको समाचार एजेन्सी एपीले जनाएको छ।

अमेरिकाको सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिजका जोन हाम्रेले एएफपीलाई भने– ‘यदि हेनरी किसिन्जरलाई छोड्ने हो भने टिलरसनको भ्लादिमिर पुटिनसँग जति सम्पर्क छ, सायद अन्य कुनै अमेरिकीको त्यति सम्पर्क छैन होला। टिलरसन आफैले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको सम्बन्ध १५ वर्ष पुरानो र दुवैबीचको सम्बन्ध अत्यन्त गहिरो भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्