राजकीय सम्मानले पारेको प्रभाव



(कृष्ण प्रजापति ) एउटा प्रितीभोज खान पाएपछि देश नै बेचेको इतिहास छ हाम्रा नेताहरूले। २०१५ सालमा निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई पनि त्यसै गरी भारतले आफ्नो देशमा राजकीय सम्मान दियो। त्यसपछि गण्डक सम्झौता गराइछाड्यो। एकपछि अर्को प्राकृतिक स्रोतसाधन भारतमा पार्ने नियतले भारतले नेपालका राजनेताहरूलाई राजकीय सम्मान दिएको, आफ्नो देशमा सञ्चालित सैनिक अभ्यास देखाएर हाम्रा देशका नेताहरूको सात्तोपुत्लो फेर्ने काम गरेको छ। आफ्नै देशमा फ्रान्स र बेलायतको प्रविधि अनि सैनिक तालिम पाएका सैनिकहरू छन् भन्ने समेत यहाँका नेताहरूले बिर्सिने गरेका छन्। गत असोज २ गतेदेखि प्रधानमन्त्री प्रचण्डलाई भारत बोलाएर त्यहाँ राजकीय सम्मान दिई पठाएदेखि नेपालमा गतवर्ष ९० प्रतिशत सांसदहरूले पारित गरेको नयाँ संविधानलाई तुरुन्तै संशोधन गर्ने बचन दिइएको हो। यो दुर्भाग्यको कुरा हो।

नेपाली जनताको रुचि, इच्छा, आकांक्षा र आवश्यकतालाई ध्यानमा राखी देशको संविधान संशोधन हुने भए त्यति बेला कसैले केही भन्ने ठाउँ रहने थिएन। समय, परिस्थितिअनुरूप संविधान संशोधन पनि हुनुपर्दछ। तर गतवर्ष मात्रै ९० प्रतिशत सांसदहरूले अनुमोदन गरी पारित गरेको संविधानलाई व्यापकरूपमा संशोधनको लागि दबाब नै नपरीकन भारतको इच्छाअनुरूप आफूसँगै रहेको भूमि अलग्ग गर्ने, हिन्दी भाषालाई पनि नेपाली भाषासरह मान्यता दिनुपर्ने र भारतीय नागरिकलाई पनि नेपालीसरह प्रधानमन्त्री, प्रधानसेनापति, प्रधान न्यायाधीश अनि सभामुख र राष्ट्रपतिजस्ता संवैधानिक अंगको प्रमुख हुने हक–अधिकार दिनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने भारतको प्रस्ताव हाम्रा कतिपय राजनेताले स्वीकार गरेको अवस्था छ। यो भारत परस्त नीति हो। यस्ता नीतिले आज देशको तराई क्षेत्र मात्रै अलग्ग गर्ने कुरा अगाडि आएको छ, भोलि सो क्षेत्र भारतसँग मिलाउने प्रस्ताव आउनेछ। यो विडम्बना हामीले कसरी सहेर बस्ने ?

राणाकालमा देशभित्रकै सामन्त वर्ग भएर पनि उनीहरूले भारत वा बृटिस सरकारले भनेझैँ बृटिस सरकारको पिच्छलग्गु भएर काम गरे। कांग्रेसको शासन आएर पनि बीपीजस्ता जननिर्वाचित भनिएको सरकारले नेपालको प्राकृतिक स्रोत नै भारतलाई सुम्पेर हाम्रो मनमा चोट पारिदियो। त्यसपछि महाकाली सन्धि गरी गिरिजाप्रसाद कोइरालाले पनि त्यस्तै राष्ट्रघाती सन्धि दोहोर्याए। आज कम्युनिस्ट भनिने भारतले भनेझैँ चल्ने माओवादी नेताहरूले पनि पुनः एकपल्ट राष्ट्रघातको पाइला अगाडि सारेका छन्। त्यसैले पनि देशभरका सार्वभौमसत्ताप्रेमी नेपाली जनता आज सडकमा उत्रिरहेको अवस्था छ। नेपाली जनताको इच्छा विपरीत र देशको आवश्यकताभन्दा पर गएर कसैको रायसल्लाह नै नलिईकन भारतबाट फर्किनेबितिक्कै प्रचण्ड र शेरबहादुर मिलेर देश सुम्पने कार्य गर्न लागेकाले नेपाली आकाशमा कालो बादल मडारिरहेको छ।

आज जनभावना विपरीत भारतको रुचिअनुरूप मात्रै संविधान संशोधन गरी यो देशलाई अपांग बनाए भने भोलि हिजोको जस्तै प्रचण्ड र शेरबहादुरलाई भारतले रातो कार्पेट बिछ्याएर स्वागत गर्ने त परै जाओस् उनीहरूको लेण्डुप दोर्जेको जस्तै हालत हुन बेर लाग्दैन। आज भारतले नेपाली नेताहरूलाई दासको दृष्टिले हेरिरहेको छ। विमानस्थलमा भारतीय सेना तैनाथ गर्ने प्रस्ताव अगाडि सारिएको छ। यस्ता कार्यहरू सजिलै पूरा गर्न दिने हो भने हामी नेपाली भोलिसम्म पनि सार्वभौमसत्ता सम्पन्न नेपाली भएर बाँच्न सक्ने अवस्था रहनेछैन।

सरकारवादी नेताहरूले आफ्नो सत्ता बचाउनकै लागि भारतसँग लम्पसार परी विदेशभक्ति नीति पारित गराउन खोजिरहेको छ। त्यसमा तराई मधेसवादी पार्टीहरू सबैभन्दा अगाडि पौडिरहेको अवस्था छ। आखिर हाम्रो गन्तव्य के हो भन्ने थाहा नपाएसम्म संविधान संशोधन, संविधानका बुँदाहरूमा सुधार वा संविधानलाई लागू गर्ने कुराहरू सबै वाहियात मात्रै हुन्। ६०–७० वर्षअगाडिदेखि नेपाली जनताले माग गरेकोमा गतवर्ष मात्रै बल्ल देशमा सार्वोभौम नेपाली जनताले आफ्नो लागि आफैंले बनाएको संविधान पारित गरी लागू गर्न शुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस्