शीतलहरले तराई अस्तव्यस्त सप्तरीमा बालिकाको मृत्यु



कृष्णउदास खनाल, वीरगन्ज
शिवहरिप्रसाद भट्टराई, सप्तरी
ध्यतर्राइमा अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। चिसो बढेको भन्दै पर्साका विद्यालयहरू एक साताका लागि बिदा दिने निर्णय भएको छ।

सोमबारदेखि पुस ३ गते आइतबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो। सामुदायिक विद्यालयहरू भने दैवी प्रकोप उद्धार समिति पर्साको निर्णयले सोमबारदेखि पुस ३ गतेसम्मका लागि बन्द गर्न भनिएको हो।

चिसोका कारण पर्सा जिल्लाको जनजीवन प्रभावित बनेको हो। लगातार ५ दिनको चिसोपछि गएको शनिबार घाम झुल्किए पनि आइतबार अनि सोमबार कठ्याङ्गिँ्रदो चिसोले थप जनजीवन प्रभावित भएको हो। नारायणी उपक्षेत्रीय अस्पतालका प्रवक्ता रमेश चौधरीका अनुसार अस्पतालमा चिसोका बिरामीहरूको चाप बढेको छ। उनले खास गरी निमोनियाबाट पीडित भएर ससाना बालबालिका अस्पतालमा भर्ना हुने क्रम बढेको बताए।

चिसोका कारण तराईका अधिकांश जिल्लाहरू प्रभावित भएका छन्। चिसोले वीरगन्जसहित पर्साको ग्रामीण भेगको जनजीवन पनि कष्टकर बनेको छ। मंसिरको अन्तिम साताबाट नै चिसो बढेपछि स्थानीयहरू मारमा परेका हुन्।
अत्यधिक चिसोका कारण सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा समस्यामा परेका छन्। चिसोले यसअघिका वर्षमा स्थानीयले ज्यान गुमाउन समेत परेको थियो। अति विपन्न तथा गरिब र दलित समुदायहरू बढी मारमा पर्ने गरेका छन्। चिसोबाट बच्न र सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन्। तराईका अन्य जिल्लाहरूमा पनि यसै खालका समस्या देखिएको सम्बद्ध जिल्लाका अधिकारीहरूले बताएका छन्। उता सप्तरीमा शीतलहरले अत्यधिक चिसोका कारण आइतबार राति एक बालिकाको मृत्यु भएको छ।

हनुमाननगर योगिनीमाई नगरपालिका–८ गोवरगाढाका मुनचुन मुखियाकी १३ वर्षीया छोरी वन्धनकुमारी मुखियाको चीसोले मृत्यु भएको हो। पाँच दिनदेखि बढेको शीतलहर र हुस्सुका कारण रुघा, खोकी र ज्वरोले थलिएकी वन्धनको न्यानो कपडाको अभावमा राति करिब १२ बजे सुतेकै अवस्थामा मृत्यु भएको स्थानीयवासी रामभरोसी मुखियाले जानकारी दिएका छन्। स्थानीय सरस्वती निमावि गोवरगाढाबाट कक्षा ५ उत्तीर्ण गरेकी वन्धनका अन्य ४ दाजुभाइ र दिदीबहिनी छन्। बाक्लो हुस्सु एवं शीतलहरका कारण हाल बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्