रानीपोखरीमा ‘माछा राजनीति अभियन्ता र कामपाबीच आरोप–प्रत्यारोप



ईश्वरराज ढकाल, काठमाडौं
रानीपोखरीको माछालाई कसरी व्यवस्थापन गर्ने ? काठमाडौं महानगरपालिकालाई टाउको दुखाइ भएको छ। अहिंसावादीले कमलपोखरीमा माछा सार्ने क्रममा अधिकांश माछा मर्न थालेपछि माछा बचाइदिन र उचित व्यवस्थापन गर्न गुहार माग्न थालेका छन्।

‘हेर्नोस् त माछा सार्ने नाममा हजारौं माछा मर्न थालेका छन्। कति दिनसम्म हामीले सहयोग गर्ने? कामपाको सुस्त गतिले गर्दा हजारौं माछा मरिसकेका छन्। हामीले बाध्य भएर राष्ट्रिय सतर्कता केन्द्रमा निवेदन दिएका छौं, अहिंसावादी शाकाहारी समाजका उपाध्यक्ष दुर्गानाथ दाहालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले रानीपोखरीका माछा नमारीकनै स्थानान्तरण गर्न पटक–पटक आग्रह गरेका छौं, कामपाले वास्ता गरेको छैन। जीर्णोद्धार गर्न लागेको कामपाले पहिलो चरणमा रानीपोखरी सुकाएर माछा निकालेपछि मात्रै थप काम अघि बढाउने तयारी गरिरहेको छ।

हामी माछा झिक्ने कि जिर्णोद्धारको काम गर्ने ? काम गरिरहँदा सबैतिरबाट प्रेसर आउछ काम गर्ने समस्या परिरहेको छ–कामपा भौतिक विकास विभाग प्रमुख डा. उत्तर रेग्मीले भन्नुभयो।

उहाँले अधिकारवादीकै कारण काम गर्न समस्या परेको बताउँदै सकेसम्म माछा नमर्ने गरी काम गरिरहेका छौं, पानी निकालेर हिलो भएपछि केही माछा मर्नु स्वभाविक हो भन्नुभयो। अधिकारवादी दाहालले भने कामपाको ढिलासुस्तिले गर्दा माछा मर्न थालेको जिकीर गर्नुभयो।‘ ६ दिन भयो। हामीले दिनभर माछा झिक्न थालेको। ठेकेदारले खटाएको ६ जनामात्रै कर्मचारीले माछा झिक्दा अझै हप्तौदिन लाग्नेछ। यस्तो गरेर माछा झिक्दा अधिकांश माछा मर्नसक्छन् –दाहालको भनाइ थियो।

मुलुकका लागि राम्रो रानीपोखरी बनाउने हो कि माछालाई बचाउने? डा. रेग्मीले भन्नुभयो– ‘हामीले जतिसक्यो चाँडै माछा व्यवस्थापन गर्ने तयारी गरेका छौं। हजारौको संख्यामा रहेका माछालाई स्थानान्तरण गर्दा केही मर्नु स्वभाविक भएको तर्क राख्दै उहाँले केही दिनभित्रै सबै माछा कमलपोखरीमा स्थानान्तरण गरेरै छाड्ने बताउनुभयो। कसले, किन माछा हाल्यो भन्ने विषयमा कसैलाई पनि जानकारी नभएको तर्क राख्दै उहाँले भन्नुभयो– ‘जसले पायो त्यसैले जुनबेला पायो त्यहीबेला पोखरीमा माछा राख्दा समस्या बढेको हो। हामीसँग उहाँले कुरा गर्दा माछा सार्न सहयोग गर्नुपर्यो भन्नुहुन्छ, हामीले सक्दो सहयोग गर्दा पनि कामपाले कर्मचारी बढाएर माछा व्यवस्थापन गर्न सकेको छैन –अधिकारवादी दाहालले भन्नुभयो। ‘कामपाले यही २१ गतेदेखि रानीपोखरीको माछा कमलपोखरीमा व्यवस्थापन गर्दै आएको छ। पानी व्यवस्थापन गर्ने उचित स्थान नभएका कारण कामपालाई समस्या पर्दै आएको छ। तापनि हामी सबै माछालाई कमलपोखरीमा व्यवस्थापन गर्दैछौं –रेग्मीको भनाइ थियो। कामपाले गएको जेठमा रानीपोखरीको केही माछा टौदहमा लगेको थियो। त्यसपछि वालाजु अनि बाँकी सबै माछा कमलपोखरीमा राख्ने निर्णय गरेको थियो।

समाजका अध्यक्ष दाहालले कामपासँग बजेट नभएको कारण माछा सार्ने काम गर्न समस्या परेको बताउँदै आएको जानकारी दिनुभयो। हामी काम गर्छौं भन्दा गर्नुस् भन्नुहुन्छ तर केही बजेट दिनुस् भन्दा छैन भन्नुहुन्छ। –उहाँको गुनासो थियो। करिब ३ सय वर्षदेखि सो पोखरीमा माछा रहेका थिए।‘पोखरीमा कति माछा छन् भन्ने बारेमा कसैलाई जानकारी छैन। कामपाले पोखरीमा लार्खौ माछा रहेको अनुमान गरेको छ। राजा प्रताप मल्लले आफ्ना माइला छोरा चक्रवतेन्द्र मल्लको मृत्युको शोकलाई सामान्य पार्न ईस्वी सम्वत १६६५मा निर्माण गरिएको सो पोखरीलाई पूर्ण रूपमा सफा गर्न अहिले कमलपोखरीमा माछा स्थानान्तरण गरिरहेको छ।

अहिले पोखरीमा रहेका १५ वटा राजहास रत्नपार्कमा स्थानान्तरण गरिसकिएको छ।पोखरीमा रहेका माछा मार्न र खान नमिल्ने किंबदन्ती भएकाले माछाको संख्या अत्याधिक बढेको हो । पोखरीमा बौद्ध धर्मावलम्बीहरूले आफ्नो जन्मदिनको दिन पोखरीमा माछा छाड्ने गर्दै आएका छन्। कामपाको स्वामित्वमा रहेको रानीपोखरी गत वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले गएको माघ २ गते रानीपोखरी पुनर्निर्माण अभियानको उद्घाटन गरेलगत्तै पुरातत्त्व विभागले उपलब्ध गराएको ड्रइङ डिजाइनको निर्माण आरम्भ गरिएको हो। ११ करोड २० लाख रुपियाँमा रानीपोखरी पुनर्निर्माणको टेन्डर आ≈वान गरे पनि तीनजना ठेकेदारले रकम घटाएर ७ करोड १० लाखमा जिर्णोद्धार गर्ने गरी सम्झौता गरेको थियो ।

करिब साढे ३ सय वर्षपछि पहिलोपटक पूर्ण रूपमा रानीपोखरी सफा गर्न थालिएको हो । विगतमा कामपाले पोखरी सफा गर्न खोज्दा पुरातत्त्व विभाग र स्थानीयले अवरोध गरेका थिए। तर, अहिले सबैको सहमतिमा पोखरी सफा गरी माछा स्थानान्तरण गर्न थालिएको छ। १ सय ८० मिटर लम्बाइ र १ सय ४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ। तत्कालीन राजाले रानीपोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन्द्र र चक्रवर्तेन्द्रको सालिक राखेका थिए। विसं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्