‘चुनाव हुन्छ–हुन्छ पुरानै संरचनामा भए पनि गरिने



काठमाडौं, (नेस)
सत्तारूढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले तोकेको समयसीमाभित्रै तीन तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गरिने बताउनुभएको छ। देशलाई विकासको बाटोमा लैजानका लागि पनि निर्वाचन आवश्यक भएको भन्दै उहाँले कुनै पनि बहानामा चुनाव नरोकिने पनि बताउनुभएको छ।

सोमबार नेविसंघले आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान कार्यक्रममा बोल्दै सभापति देउवाले क्यालेन्डर बनाएर २०७४ माघ ७ गतेभित्रै तीन तहको निर्वाचन सम्पन्न गरिने बताउनुभएको हो। नया संविधानमा २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरिसक्नुपर्ने उल्लेख गरिएको छ। संविधानमा तोकिएको समयसीमा नजिकिँदै जादा पनि प्रमुख दलहरू भने निर्वाचनको तयारीमा जुटेका छैनन्। साथै निर्वाचनका लागि आवश्यक ऐन कानुन पनि बनेका छैनन्।

कार्यक्रममा सभापति देउवाले निर्वाचन गर्ने बारेमा दुई दिनअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि आफूले छलफल गरेको बताउँदै नेपाली कांग्रेस सकेसम्म नयाँ संरचनाअनुसार र नभए पुरानै संरचनाअनुसार भए पनि निर्वाचन गर्नुपर्ने पक्षमा रहेको बताउनुभएको थियो। नेकपा एमाले पनि निर्वाचनको पक्षमा रहेको भन्दै सभापति देउवाले भन्नुभयो– ‘चुनाव रोकिँदैन, चुनाव हुन्छ, हुन्छ।

सीमांकन परिवर्तनसहितको संविधान संविधान संशोधनको विषयमा भइरहेको विवादका बारेमा सभापति देउवाले असन्तुष्टि प्रकट गर्दै एमालेले मधेस र पहाडबीच झगडा गराएर देशमा विभाजन ल्याउन खोजेको आरोप लगाउनुभएको थियो। ‘पहिला प्रदेश नं ५ को मगर समुदायमा बसेका मानिस प्रदेश नं ४ को गुरुङ समुदायमा बस्दा के हुन्छ ? सभापति देउवाले भन्नुभयो– ‘संविधान संशोधनका बारेमा एमालेले विरोध गर्नुको औचित्य छैन। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि संविधान परिमार्जन हुँदै जाने दस्तावेज भएको बताउँदै संविधान संशोधनका विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आउनु दुःखद् भएको औंल्याउनुभएको थियो। नेपाली जनताको लामो त्याग र बलिदानपछि निर्माण भएको संविधानलाई गुम्न दिनुहुँदैन भन्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसले नै सबै दललाई मिलाएर राष्ट्रिय सहमतिका साथ मुलुकलाई निकास दिनुपर्ने बताउनुभएको थियो।

संविधान कार्यान्वयनका लागि अहिले नेविसंघले दबाब सिर्जना गर्नुपर्ने भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन पनि नेपाली कांग्रेसकै अग्रसरतामा हुने बताउनुभएको थियो। सो अवसरमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलसंविधान संशोधन दलहरूको साझा एजेन्डा भएको बताउँदै क्षणिक फाइदाका लागि एमालेले संविधान संशोधन गर्न हुँदैन भनी अनर्गल प्रचार गरिरहेको आरोप लगाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्