‘कस्ता होलान् ? राज्यमन्त्री पाउँदा दौडन्छन् ?



नेपाल समाचारपत्र
काठमाडौँ
व्यवस्थापिका संसद् कृषि तथा जलस्रोत समितिका सभापति तथा सांसद रबिन्द्र अधिकारीले संसदीय समितिका सभापतिहरूले पदको महत्व नबुझेको बताएका छन्।

दशौँ व्यवस्थापिका संसद् दिवसको उपलक्ष्यमा ‘सार्वजनिक निकायको प्रभावकारितामा संसदीय समितिको भूमिकाबारे अन्र्तक्रियामा बोल्दै सभापति अधिकारीले उक्त कुरा बताउनुभएको हो। उहाँले भन्नुभयो– ‘संसदीय समितिका सभापतिहरूको ठूलो भूमिका भएको तर सहायक मन्त्री पाए सभापति पद छाड्ने भनेर त्यसकै लागि दौँडिदै ठिक्क छ। उहाँहरूले यसको महत्व बुझ्न सकिरहनु भएको छैन। त्यसैले समितिहरूबीच पनि अन्र्तक्रिया छैन।

सोमबार कृषि तथा जलस्रोत समितिको सभाकक्षमा समितिका सभापति तथा सांसद रविन्द्र अधिकारीले आफ्ना सहकर्मीहरूका बारेमा तीखो टिप्पणी गर्दै हुनुहुन्थ्यो। उहाँले अवधारणापत्र प्रस्तुत गर्दै अधिकारीले भन्नुभयो– ‘अरू त अरू आफ्नै दल एमालेका माननीयहरूलाई विकास समितिका सभापतिको हैंसियतले मैले खर्चिरहेको समय मनपरेको छैन। उहाँहरू भन्नुहुन्छ –‘तपाईंले पार्टीमा समय दिएको भए कति माथि पुगिसक्नुहुन्थ्यो। विकास समितिमा मैले गरिरहेको काम पनि पार्टीकै काम हो भनेर सहकर्मी कमरेडहरूले बुझ्नुपर्छ।

समिति र आफ्ना दलका सहकर्मीहरूप्रतिको टिप्पणीपछि कार्यक्रममा सहभागी संसदका कर्मचारीहरूसँग अधिकारीको सुझाव थियो– ‘यहाँ कतिपय माननीयहरू ठेकेदार पनि छन्।ठेक्का लिएको सम्बन्धित माननीयलाई निरीक्षक बनाएर पठाउने गल्ती संसद्को प्रशासनले गर्नुहुन्न।

कार्यक्रममा संसदीय समितिका सबै सभापतिलाई बोलाइए पनि कोही उपस्थित थिएनन्। सभापति अधिकारीले निकै मिहिनेत गरेर अनुसन्धान गरिएको संसदको रिपोर्ट संसद्कै दराजमा थन्किने प्रवृत्ति हटाउनुपर्ने बताउँदै भन्नुभयो– ‘संसदको गरिमालाई बढाउन यहाँका सबै समितिको बैठकमा नागरिक सहभागिता पनि जरुरी छ। प्रधानन्यायधीशको सुनुवाइमा त उजुरीकर्ता उपस्थिति हुन्छन् भने सबै संसदीय समितिमा पनि नागरिक सहभागिता भए राम्रो सुझाव आउँछन्।

साधनस्रोतको अभाव, दक्ष जनशक्तिको अभाव छ भनेर मात्रै गुनासो गरिरहनु भन्दा पनि सरकारलाई जवाफदेही बनाउन संसद्को कर्मचारीहरूको ठूलो भूमिका छ। त्यसैले लोकतन्त्र बलियो बनाउन जिल्लामा गएर त्यत्तिकै फर्किएर आउनुभन्दा लिखित रिपोर्ट बनाएर कार्यन्वयनका लागि पहल गरिनुपर्छ। सभापति अधिकारीले गुरुमन्त्र दिँदै दृढ इच्छाशक्तिको अभाव, देश बदल्छु भन्ने दृढताको अभावले संसद गतिशील हुन नसकेकोमा चित्त दुखाउनुभयो।

अधिकारीको अवधारणापत्र उपर टिप्पणी गर्दै सञ्चारकर्मी हरिबहादुर थापाले माननीय सांसदहरूको उपस्थिति भएको भए कर्मचारीहरूको गुनासो दोहोरो हुन्थ्यो, त्यो सम्भव भएन। बाहिरबाट हेर्दा संसद् शक्तिशाली मानिन्छ तर हनुमानसँग उसलाई कसैले बलवान भन्दिनुपर्छ भनेझैँ आफूसँग भएको बल संसद्ले प्रयोग गर्न नसकेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्