आधुनिक कारागारमा सरेपछि कैदीबन्दीमा खुसीयाली



विष्णुप्रसाद भण्डारी, अछाम
छाम जिल्लाको जिल्ला कारागार स्थापनाको तीन दशकपछि कैदीले आधुनिक सुविधा सम्पन्न कारागार पाएका छन्। आधुनिक कारागारमा सरेपछि उनीहरूले नाचगानसहित खुसीयाली मनाएका छन्। पुरानो कारागारमा रहेका कैदीबन्दीलाई नयाँ आधुनिक भवनसहितको सुविधा सम्पन्न जिल्ला कारागारमा सारिएको छ।

वर्षौ पुरानो जीर्ण भवनबाट कारागारमा रहेका ३४ जना कैदीलाई नयाँ भवनमा सारिएको हो। जम्मा ७ वटा कच्ची कोठामा बस्दै आएका उनीहरू नयाँ आधुनिक पक्की भवनमा सारिएपछि खुसी भएका छन्। ४ महिला र ३० पुरुष गरी जम्मा ३४ जना कैदीबन्दी यसअघि एउटै ठाउँमा खचाखच गरी बस्नुपर्ने बाध्यता रहेको थियो। २०३३ सालतिर निर्माण गरिएको पुरानो भवनमा दुई कोठामा महिला र पाँच कोठामा पुरुष कैदीलाई खचाखच हुने गरी राखिएकाले उनीहरूले सास्ती खेप्दै आएका थिए। तर, नयाँ आधुनिक भवनमा सारिएपछि भने उनीहरू खुसी भएका छन। पहिलेको भवनमा क्षमताभन्दा धेरै कैदी राख्नुपरे पनि नयाँ भवनमा भने त्यो समस्या नआउने जेलर नन्दकृष्ण शर्माले बताउनुभयो। नयाँ ठाउँमा सारिएपछि कैदीहरूले नाचगानसहित रमाइलो गरेका छन्।

महिला र पुरुष कैदीका लागि छुट्टाछुट्टै ‘ब्लग को व्यवस्थासहित बनाइएको नयाँ भवनमा बिजुली, खानेपानी, धूवाँरहित चुलो, सुविधायुक्त शौचालय र पर्याप्त खेल मैदानको समेत व्यवस्था रहेकाले उनीहरू थप उत्साहित बनेको प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनुभयो।

कारागारमा प्रहरी सहायक निरीक्षकको कमान्डमा १ महिलासहित २० जना प्रहरीको दरबन्दी रहेको पनि उहाँले बताउनुभएको छ। सारिएको नयाँ भवनमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै १२ वटा कोठा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्