सञ्जयको पिता अक्षय !



बलिउड अभिनेता सञ्जय दत्तको जिन्दगीमा उनका अभिनेता तथा राजनीतिज्ञ पिता सुनिल दत्तको निकै ठूलो योगदान रहेको छ । जबजब सञ्जय समस्यामा फस्थे, तब सुनिल उनलाई समस्याबाट उम्कन सहयोग गर्थे । चाहे त्यो लागूपदार्थको मामला होस्, या अदालतको । जुन बेला सञ्जय दत्त लागूपदार्थ सेवनजस्तो कुलतमा फसेका थिए, सुनिलले उनको उपचार गराएर उनको करियरलाई बचाए । जब सञ्जयविरुद्ध मुद्दा दर्ता भयो, सुनिलले नै छोराका लागि निकै लामो लडार्इं लडे ।

सञ्जय दत्तको जीवनीमा फिल्म बनाइरहेका राजकुमार हिरानी यसकारण सुनिलको भूमिकामा त्यस्तो कलाकारलाई लिन चाहन्छन्, जसको अभिनय निकै नै अब्बल होस । अक्षय खन्नाले अहिलेसम्म राम्रो फिल्म नपाए पनि उनलाई राम्रो अभिनय क्षमता भएको कलाकार मानिन्छ । यदि बलिउडको समाचारलाई पत्याउने हो भने यस बेला हिरानी अक्षयलाई सुनिलको भूमिका निर्वाह गर्नका लागि राजी गराउन व्यस्त छन् ।

फिल्ममा सञ्जय दत्तको भूमिका रणवीर कपुरले निर्वाह गर्दैछन् भने अक्षय उनको पिताको भूमिकामा देखिनेछन् । के रणवीरको पिताको भूमिका निर्वाह गर्न अक्षय राजी होलान त? अहिले यो अहम् सवाल बनेको छ । समाचारमा चर्चा गरिएअनुसार अक्षयले उक्त चुनौति स्विकार्नदेखि डराउने छैनन् र संभव छ कि उनी मान्छन् पनि । रणवीरले त सञ्जयको भूमिका निर्वाह गर्न शुरु गरिसके । हिरानी यस बेला फिल्मका लागि कलाकार छान्न जुटिरहेका छन् । सञ्जयको जीवनमा कोही महिलाहरू पनि आएका छन् र हिरानीलाई हिरोइनको खोजी पनि गर्नुछ । यो फिल्मका लागि अहिले कंगना रनावत र सोनम कपुरको नाम पनि चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्