नाच्ने, गाउने र रमाउने



पहिला पञ्चको पार्टी भनेर नाक खुम्च्याउनेलाई पनि अहिले राप्रपा निकै आकर्षणको केन्द बन्न पुगेको धरहरा वरपर चर्चा हुन थालेको छ। पहिले माओवादी नेताहरूसँग नजिकिएकी नायिका रेखा थापा अहिले सो पार्टीलाई लात हान्दै विपरीत ध्रुवमा रहेको राप्रपामा छिरेपछि यो चर्चा हुन थालेको हो।

उनीहरू भन्दै थिए– ‘राप्रपामा अब गाना बजाना त निकै सप्रिएला जस्तो भो त। एक जना गाना गाउने एक जना नाच्ने। केही अघि गायिका कोमल ओली पनि सोही पार्टीमा प्रवेश गरेकी थिइन्। अर्की नायिका रेखा थापा पनि हिजोबाट प्रवेश गरेपछि त कोमल गाउने रेखा नाच्ने, अरू हेरेर बस्ने। कस्तो काइदा पो होला जस्तो छ त ?
रेखाले अहिलेका प्रधानमन्त्री प्रचण्डसँग उतिबेलै नाचेर चक्कड गरेकै हुन्।

अब राप्रपामा कोसँग नाच्ने हुन् कुन्नि ? फेरि रेखासँग नाच्न पाउनुपर्छ भनेर नेताहरूबीच होडबाजी भएर पार्टी नै फुट्यो भने पो बर्बाद्। धरहरा पार्टीहरूमा टुटफुट होस् भन्ने चाहिँ चाहँदैन है। बरु त्यस्तो प्रतिस्पर्धा राप्रपाका नेताहरूमा देखियो भने केन्द्रीय कार्यसमितिको बैठकबाट नै चिठ्ठा हाल्ने, जसलाई पर्छ उहीसँग नाच्ने व्यवस्थाका लागि निर्णय नै पो गराउने हो कि ? त्यसमा जुनसुकै नेता पनि सहमत हुनुपर्ने व्यवस्था गरौं। हुन्छ नि होइन ? आइडिया कस्तो लाग्यो त पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्