इंग्ल्यान्डविरुद्ध भारतलाई टेस्ट शृंखला



नयाँदिल्ली, (एजेन्सी)
भारतले मुम्बईमा भएको चौथो टेस्ट एक इनिङ र ३६ रनले जितेपछि इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखला हात पारेको छ। यो जितसँगै ३–० को अग्रता बनाएर भारतले पाँच टेस्टको शृंखला जित्नुका साथै ८ वर्षपछि इंग्ल्यान्डविरुद्ध टेस्ट शृंखला हात पारेको हो। सोमबार पाँचौं तथा अन्तिम दिन भ्रमणकारी टोली १ सय ९५ रनमै अलआउट भएको थियो। इंग्ल्यान्डका बाँकी चार ब्याट्सम्यान बिहानी सेसनमै धेरै बेर टिक्न नसकेपछि भारतले टेस्ट जित्न सहज बन्यो। उनीहरूले ६ विकेटको क्षेतिमा १ सय ८२ रनले हिजोको खेल शुरू गरेका थिए। तर, ४८ बलमा केवल १३ रन थप गर्दै सबै विकेट पवेलियनतिर फर्केका थिए। इंग्लिस टोलीले भारतको पहिलो इनिङको ६ सय ३१ रन पनि पार गर्न अझै ३६ रनको आवश्यक थियो।

भारतको जितमा रविचन्द्रन अश्विनले सानदार बलिङ गरेका थिए। उनले ५५ रन दिएर ६ विकेट लिएका थिए। पहिलो इनिङमा पनि ६ विकेट लिएका उनले यस टेस्टमा कुल १२ विकेट हासिल गर्न सफल भए। टेस्टमा नम्बर एक स्थानमा रहेको भारतको पाँचौं लगातार टेस्ट शृंखला पनि हो। साथै घरेलु मैदानमा भारतले १८ खेलमा अपराजेय यात्रासमेत गरेको छ।

उता इंग्ल्यान्डका कप्तान एलेस्टेर कुकको टोलीले पाँच खेलमा चौथो हार बेहोरेको छ। त्यस्तै एक वर्षमा टोलीले सातौं टेस्ट हारेको छ। यदि शुक्रबारदेखि शुरू हुने चेन्नईमा हुनेट टेस्ट पनि हारेमा यो वर्ष आठौं हार बन्नेछ। यदि यसो भएमा यो इंग्ल्यान्डका लागि सबैभन्दा खराब वर्ष ठहरने पनि इंग्ल्यान्डका विश्लेषकहरूले जनाएका छन्।
जोय रुट र जेम्स एन्डरसनले इंग्ल्यान्डको हारको कारण चार जना पेसम्यान र दुई जना मात्रै स्पिनर खेलाउने निर्णयलाई दोष ठहर्याए। उनीहरूका अनुसार स्पिनरले मुम्बईको पिचमा विकेट लिन सक्ने थिए। मुम्बईको पिचमा इंग्ल्यान्डले पहिलो इनिङमा २ विकेटको क्षेतिमा २ सय २० रन बनाएको थियो। तर, पछिको १ सय ८० रन जोड्दासम्म बाँकी ८ विकेट गुमाएर ४ सय रनमा समेटिएको थियो।

भारतले यसको जवाफमा कप्तान विराट कोहलीको दोहोरो शतक तथा मुरली विजय र जयन्त यादवले सतक ठोकेपछि ६ सय ३१ रनको विशाल योगफल तयार गरेको थियो। कोहलीको यो वर्ष तेस्रो दोहोरो शतक थियो भने जयन्तले पहिलो टेस्ट शतक बनाएका थिए। भारतलाई २ सय ३१ रनको पहिलो इनिङमा अग्रता मिलेको थियो। भारतका लागि यो अग्रता नै इंग्ल्यान्डलाई हराउन पर्याप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्