शहीदगेटको बेवास्ता



ईश्वरराज ढकाल, काठमाडौं
नेपालमा राजतन्त्र फालिएपछि सुन्धारास्थित शहीद गेट पनि अहिले बेवारिसे अवस्थामा पुगेको छ। राजतन्त्र फालिएपछि पनि एकपटक तत्कालीन प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री हुनासाथ शहीदगेट पुगेका थिए। तर, राजतन्त्र फालिएपछि कोइरालाका अगाडि र पछाडिका प्रधानमन्त्रीहरूले मात्रै होइन नेपाल आउने विदेशी पाहुनाले समेत खुट्टा टेकेका छैनन्। २०६२–२०६३ सालको आन्दोलनबाट राजतन्त्र ढलेपछि राजधानीको बीच भागमा रहेको शहीदगेट लगभग बेवारिसे बनेको हो।

केबल राजावादीहरूले मात्रै पुज्ने भनिएको सो ऐतिहासिक स्मारकमा राज्यको भने आँखा पुगेको देखिएको छैन। चार शहीदको शिरमा राजा त्रिभुवनको अर्धकदको सालिक राखेरै होला नेपालमा लोकतन्त्र आएपछि पहिलो सम्मान गर्न शहीदगेट पुग्नुपर्ने परम्परा हराएर गएको छ।

राजतन्त्र हट्नुअघि नेपाली सेनाले सुरक्षा दिने गरेको सो गेटमा राजतन्त्र हट्नासाथ सेना पनि हट्यो। अहिले कसले सुरक्षा दिन्छ त? यसको उत्तर कसैसँग छैन। बेवारिसे गेटको अहिले महानगरपालिकाले रेखदेख गरिरहेको छ।
कामपाका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाले सेनाले सुरक्षा दिँदै आइरहेको उक्त शहीदगेट राजतन्त्रको समाप्तिसँगै बेवारिसे रहेको र शहीदगेटको रेखदेख कामपाले गर्दै आइरहेको बताउनुभयो। ‘शहीद दिवसको केही दिनअघि सामान्य रंगरोगन गर्ने गरेका छौं, कहिलेकाही सरसफाइ गर्ने गरिएको छ। गेटको सुरक्षा कसले गर्छ, हामीलाई थाहा नै छैन। –सापकोटाको धारणा थियो। एकताका गेटको माथिल्लो भागमा रहेको राजा त्रिभुवनको सालिक हटाउने विषयले ठूलो चर्चा पाएको थियो। यस विषयमा सर्वोच्चमा मुद्दा पर्यो र आदेश आयो– ‘हटाउनुपर्ने कुनै कारण छैन। त्यसपछि राजाको सालिक हटाउने विषयको बहस बन्द भयो।

‘कहिलेकाहीं शहीदगेटमा लक्ष्मणसिंह खड्काले रङरोगन गराउने गरेका थिए। अहिले त्यो पनि बन्द भएको छ। रङ लगाउने र सफाइ गर्ने काम हामीले नै गर्ने गरेका छौं। –कार्यान्वयन महाशाखा प्रमुख सापकोटाको भनाइ थियो। हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई शहीद दिवसका रूपमा मनाउने गरिँदै आएको छ।
त्यो दिन राजावादीले मात्रै शहीदको सम्झनामा शहीदको सालिकमा माल्यार्पण गर्ने गरेका छन्। नेपालमा विसं १९०३ सालदेखि १०४ वर्षसम्म नेपालमा राणाहरूको एकलौटी जहानियाँ शासन चल्यो। राणा शासकको विरोध गरेको आरोपमा १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीस्थित खरीको रूखमा र ११ गते धर्मभक्तलाई सिफलस्थित एक रूखमा झुण्डइइएको थियो। माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा निर्ममतापूर्वक गोली ठोकेर मारिएको थियो। उनै शहीदको सम्झनामा तत्कालीन राजा महेन्द्रले नेपालमा प्रजातन्त्र ल्याउन मुख्य योगदान गर्ने पिता राजा त्रिभुवनको सम्झनामा २०१९ सालमा इन्जिनियर शंकरनाथ रिमालको डिजाइनमा शहीदगेट बनाएका थिए।

अरुणशमसेर, गौरीनाथ रिमाल र सूर्यलाल जोशीसहित तीन जनाको समितिले हालको स्थानमा शहीदगेट निर्माण गर्न लगाएको थियो। प्रजातन्त्रको स्तम्भ राख्ने योजना भए पनि निर्माण समिति र अन्यको सल्लाहमा शिरमा त्रिभुवन नै राख्नुपर्ने निधो गरी सबैभन्दा माथि राजा त्रिभुवनको सालिक बनाइएको थियो। ‘शहीदगेटमा रहेको मुख्य शिलालेख चोरी भएको छ। २०६५ सालतिर चोरी भएको हो। –सापकोटाले भन्नुभयो। राजा त्रिभुवन नेपाल आउँदा खिचिएको सुन्दर तस्वीरसहित गेटको विवरण उल्लेख गरी शिलालेख राखिएको थियो।

लोकतन्त्रलगत्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदभार ग्रहण गर्नासाथ शहीद गेटमा पुगेर सम्मान व्यक्त गर्नुभएको थियो। त्यसपछि अन्य प्रधानमन्त्री शहीदगेट जान छाडेका थिए। पछि गणतन्त्र आएपछि शहीदगेट जाने प्रचलन हराएर लैनचौरको शहीद स्मारकमा पुग्न थाले। करिब एक महिनाअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा शहीदगेटमा पुग्ने कार्यक्रम तय गरिएको थियो। ‘भारतीय राष्ट्रपति नेपाल आउने भनेपछि शहीदगेटमा रङ रोगन गर्यौं। सफा सुग्घर गरी टिलिक्क टल्कायौं। तर अन्तिम समयमा स्थगित गरियो। –कामपा कार्यान्वयन विभाग प्रमुख सापकोटाले भन्नुभयो।
बेवारिसे भएको शहीदगेटलाई कसले संरक्षण गर्ने भन्ने विषय गम्भीर बन्न पुगेको छ। लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति एवं इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले सरकारले नै शहीदगेटलाई अपमानित गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘स्थापना गर्दा नेपालद्वार नामाकरण गरी निर्माण गरिएको गेटको नाम पछि मात्र शहीदगेट रहन गएको हो। त्यसलाई सकिन्छ भने फेरि नेपालद्वार नै राखेर संरक्षण गर्नु उचित हुन्छ। उहाँले शहीदको सम्मान गर्नुको साटो अपमान गरेर अहिले सो गेटको अस्तित्व नै मेटाउन खोजिएकोमा दुःख व्यक्त गर्दै सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आफ्नो अघिल्लो कार्यकालमा प्रधानमन्त्री हुनासाथ शहीदगेटको शिरमा राखिएको राजा त्रिभुवनको सालिक हटाउने प्रयास गरेपछि त्यो असम्भव भएको बताउँदै एक व्यक्तिकै कारण शहीद गेटलाई अपमानित र अपहेलित गर्नु दुःखद घटना भएको मानन्धरले बताउनुभयो। प्रजातन्त्र ल्याउन मुख्य भूमिका रहेका चार शहीदसँग राम्रो सम्बन्ध भएरै होला गेटको सबैभन्दा माथि राजा त्रिभुवनको सालिक राखेको तर यसलाई गलत प्रचार गरेर मुलुकको ऐतिहासिक स्तम्भलाई कसैले पनि बिगार्न नहुने उहाँको जिकिर थियो। २०४६ सालमा प्रजातन्त्र आएपछि पनि मन्त्रिपरिषद् गठन हुँदा होस् वा अन्य कार्यक्रम हुँदा शहीदको सम्मान गर्न शहीदगेट जाने गरिएको दृष्टान्त सुनाउँदै उहाँले भन्नुभयो– ‘२०६२–२०६३ सालमा लोकतन्त्र आएपछि शहीदगेट पुग्ने काम बन्द भयो। ‘अहिले सो स्मारक पूर्णरूपमा अपहेलित भएको छ, सबैले उपेक्षित गर्न थालेका छन्, यस्तो गर्नु पूर्णरूपमा गलत हो। –उहाँको दुःखेसो थियो।

प्रतिक्रिया दिनुहोस्