सभामुख विदेशमा, संसद् दिवस नै सारियो



कृष्णराज चौधरी, काठमाडौं
अवरुद्ध संसद्को गाँठो फुकाउन पहल गर्दागर्दै सभामुख ओनसरी घर्ती विदेशमा गएपछि दशौं व्यवस्थापिका संसद् सेवा दिवस नै दुई दिन पछि सरेको छ।
विश्वका महिला सभामुखहरूको ४ दिने भेलामा भाग लिन सभामुख घर्ती, शनिबार यूएई गएपछि संसद् सेवा दिवस दुई दिनलाई पछि सरेको हो। स्मरण रहोस्, प्रत्येक वर्ष मंसिर २८ गते व्यवस्थापिका संसद् सेवा दिवस मनाइन्छ। तर, सभामुख यूएईबाट मंसिर २९ गते राति ८ बजे मात्र आउने भएपछि यस वर्ष मंसिर ३० गतेलाई संसद् सेवा दिवस सारिएको छ। संसद् बैठक पनि मंसिर ३० गतेसम्मका लागि सरेको छ।

संसद् सचिवालयका प्रवक्ता सुदर्शन कुइँकेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उपसभामुखको उपस्थितिमा पनि संसद् सेवा दिवस मनाउन सकिन्थ्यो। तर सभामुख र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अनुपस्थितिमा उहाँहरूकै अनुरोधमा संसद् सेवा दिवस दुई दिन पछि सारिएको हो।

प्रत्येक वर्ष निजामती सेवा दिवस भदौ २२ गते मनाइन्छ। यो दिवस कुनै अतिथिको अनुपस्थितिका कारण कहिल्यै सरेको छैन। संसद् सचिवालयका अनुसार निजामतीबाट छुट्टिएर २०५८ मंसिर २८ गते संसद् सेवा ऐन पास भएपछि संसद् सेवा दिवस मनाउन थालिएको हो। तर बीचमा संसद् नै खाली भएपछि यस वर्ष बल्ल दशौं संसद् सेवा दिवस मनाइँदै छ।

सांसदहरूको बेवास्ता
संसद् सेवा दिवस त्यहाँ कार्यरत कर्मचारीहरूले मनाउने भए पनि तिनीहरूको कार्यक्रममा सहभागिता जनाएर उत्साह बढाइदिनु जनप्रतिनिधि सांसदहरूको पनि जिम्मेवारी हो। तर ६०१ जम्बो सांसदहरूले दिवसको पुरै बेवास्ता गरेका छन्। सचिवालय परिसर सरसफाइ, डोरी तान्ने, हण्डी फुटाउने, कुर्सी दौड, चम्चा दौड, ब्याडमिन्टनलगायत खेलकुद, कविता वाचन, रक्तदान आदि कार्यक्रम गरेर सप्ताहव्यापी रूपमा संसद् सेवा दिवस कार्यक्रम मनाइँदै छ। आइतबार २ नम्बर सचिवालय परिसरमा ७२ जनाले रक्तदान गरेका छन्। बाहिरै रक्तदान कार्यक्रमको ठूलो ब्यानर लगाइए पनि एक जना सांसदबाहेक अरूले रक्तदान गरेनन्। जबकि संसद् सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउनेबारे प्रायः सबै सांसदहरूलाई जानकारी दिइएको थियो।

रक्तदान गर्नुभएकी नवलपरासीकी एमाले सांसद सिन्धुजलेसा बुढाथोकीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कार्यक्रमबारे जानकारी पाएपछि मैले पनि रक्तदान गर्ने निधो गरें। हाम्रा आफन्त, जिल्लाका कार्यकर्ता बिरामी भई रगत चाहिएको हुन्छ। हामीले दान गरे पो अरूलाई जोहो गरिदिनुस् भनेर माग्न सजिलो हुन्छ। अरूलाई रक्तदान जस्तो परोपकारी काममा प्रोत्साहन गर्न छाडेर तर किन हो खै, अरू सहकर्मी सांसदहरूले किन बेवास्ता गरेका हुन्?

अरू त अरू शनिबार भएको कविता कार्यक्रममा सांसद सिन्धुजलेसा बुढाथोकी एक्लै उपस्थित भएपछि कविता कार्यक्रमको पनि प्रमुख अतिथि बन्ने मौका पाउनुभयो। संसद् सचिवालयका एक कर्मचारीले भने– ‘धन्न एकजना सांसद आएर भए पनि दुवै कार्यक्रममा सुनमा सुगन्ध थपि दिनुभयो।

निर्धारित दशौं व्यवस्थापिका संसद् सेवा दिवस दुई दिनपछि सारिएपछि मंसिर २८ गते नियास्रो हुन नदिन विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। जसअनुसार मन परेको गीतमा नाच्ने, गाउने, दोहोरी गीत, वाद्यवादन, पुनः कविता वाचन, हास्यव्यंग्य प्रस्तुतीको कार्यक्रम राखिएको कार्यक्रमका संयोजक जीवराज बुढाथोकीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्