केयू नेतृत्वविहीन उपकुलपति छान्न बसेको बैठकमा विवाद



नेपाल समाचारपत्र
काठमाडौं
उपकुलपति छनोटमा विवाद भएपछि आज सोमबारदेखि काठमाडौं विश्वविद्यालय नेतृत्वविहीन भएको छ। प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने भए पनि उपकुलपति विश्वविद्यालयको कार्यकारी पद हो। काठमाडौं विश्वविद्यालयको उपकुलपति डा. रामकण्ठ माकाजु श्रेष्ठको चार वर्षे कार्यकाल आइतबार समाप्त भएको छ।
उपकुलपति छनोटका लागि शिक्षा मन्त्री धनीराम पौडेलको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय सर्च कमिटीको आइतबार बसेको बैठकले पनि नाम सिफारिस गर्न सकेन। सर्च कमिटीमा काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना र संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा सदस्य छन्। उपकुलपतिको नाम सिफारिस गर्न आइतबार बसेको सर्च कमिटीको बैठकमा शिक्षा मन्त्री पौडेलले दुई सदस्यको सहमतिबिनै नाम सिफारिस गर्न दबाब दिएपछि सर्च कमिटीमा विवाद उत्पन्न भएको र बैठक बिनानिष्कर्ष टुंगिएको छ।

सर्च कमिटीका सदस्यद्वय ढुंगाना र शर्माले उपकुलपतिमा डा. रामकण्ठ श्रेष्ठको एकमात्र नाम सिफारिस गर्नुपर्ने भने पनि शिक्षा मन्त्री पौडेलले तीन जनाको नाम सिफारिस गर्ने जसमा पहिलो नम्बरमा केयूकै प्राडा जनार्दन लामिछानेको नाम राख्नुपर्ने भनेपछि विवाद आएको स्रोतको भनाइ छ। शिक्षा मन्त्री पौडेलले दोस्रो नम्बरमा डा. रामकण्ठ र तेस्रो नम्बरमा केयूका पूर्व रजिष्ट्रार भद्रमान तुलाधरको नाम राख्नु भनेका थिए।
स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार बिहीबार शिक्षामन्त्रीसँग उपकुलपतिको नाम सिफारिस गर्नेबारे भएको अनौपचारिक कुराकानीमा पनि सर्च कमिटीका सदस्यद्वय ढुंगाना र शर्मालाई शिक्षा मन्त्रीले लामिछानेलाई नै उपकुलपति बनाउनुपर्ने बताएपछि तपाईसँग कुरा मिल्दैन, प्रधानमन्त्रीसँग नै बैठक बस्ने भन्दै रिसाएर निस्किएको स्रोतले जानकारी दिएको थियो।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले मंगलबार पनि शिक्षा मन्त्रीलाई आफ्ना पार्टीका नेता वर्षमान पुनसँग सल्लाह गरेर मात्र नाम सिफारिस गर्न निर्देशन दिएका थिए। उपकुलपतिका लागि सर्च कमिटीले नाम सिफारिस गरेपछि प्रधानमन्त्री तथा कुलपतिबाट उपकुलपति नियुक्त गरिने प्रावधान रहेको छ।

शिक्षा मन्त्रीले केयूको उपकुलपतिमा ल्याउन चाहेका लामिछाने स्कुल अफ साइन्सअन्तर्गत बायोटेक्नोलोजी विभागका विभागीय प्रमुख हुन्। साथै काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका पूर्व अध्यक्ष हुन्। उपकुलपतिको नाम सिफारिस गर्न आइतबार दिउँसो बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि पुनः बैठक बसेको थियो। सर्च कमिटीका एक सदस्यले नेपाल समाचारपत्रलाई राति अबेर जानकारी दिएअनुसार पहिलो चरणमा सर्चकमिटीका तीन सदस्यबीच सहमति हुन नसकेपछि दोस्रो चरणको बैठक बसेको हो। राति अबेरसम्म बैठक जारी रहेको ती सदस्यको भनाइ थियो। रातभरि छलफल गरेर भए पनि आजसम्म उपकुलपतिका लागि नाम सिफारिस गरिने सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्