१३ करोडको उपलब्धि शून्य गाउँमा पठाइएको भनिएको पाइप बाटोमा बेवारिसे



धनवीर दाहाल, रुकुम
कुम जिल्लामा खानेपानी र सरसफाइका लागि केन्द्रबाट पठाएको १३ करोड रुपियाँको उपलब्धि शून्य जस्तै भएको छ। जिल्ला खानेपानी डिभिजन कार्यालय रुकुममा समुदायका लागि खानेपानी योजना सञ्चालन र जिल्लालाई पूर्ण सरसफाइ बनाउने कार्यक्रमअन्तर्गत पठाइएको १३ करोड कसरी खर्च भइरहेको छ भन्ने जानकारी कसैलाई थाहा नभएको गुनासो सर्वत्र उठेको छ। सो रकम खानेपानी, सरसफाइ र पुनःस्थापनाका लागि भनेर पठाइएको भए पनि कुन रकम कसरी खर्च गरिएको छ र त्यसको उपलब्धि कति भएको छ भनी सार्वजनिक नभएपछि उपभोक्ता दुःखी भएका छन्।

जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख विकेश ओधानथाछेले आयोजनाहरू सर्भे गर्दा कर्मचारीलाई गर्न लगाउने र कन्सल्टेन्सी भर्ना गरेको भनी कन्सल्टेन्सीको रकम आफैं बुझ्ने गरेको सो कार्यालय निकट स्रोतले दाबी गरेको छ। सो कार्यालयका कर्मचारीहरूलाई काममा खटाउने तर नक्कली कन्सल्टेन्सी बनाएर रकम बुझेको सोही कार्यालयका कर्मचारीले गुनासो गरेका छन्। नाम नबताउने सर्तमा कार्यालयका एक कर्मचारीले भने– ‘हाकिम साब जहिले पनि आफ्नो मन लागेको गर्नुहुन्छ। जिल्लामा धेरै बस्नुहुन्न अनि आएपछि कर्मचारीप्रति नीच व्यवहार गर्नुहुन्छ। यस्तो अवस्थामा काम गर्ने कर्मचारीको मनोबल झनै गिरेको छ। जिल्ला खानेपानी डिभिजन कार्यालयबाट यस वर्ष सञ्चालन हुने क्रमागत र नियमित गरी ६८ वटा आयोजना सञ्चालन हुनेछन्। ती आयोजना सञ्चालनका लागि १३ करोड आएको भए पनि हालसम्म उपलब्धि शून्य देखिएको छ। जिल्लाका केही ठाउँमा खानेपानीको चरम अभाव देखिएको भए पनि खानेपानीकै लागि आएको पैसा उचित ठाउँमा खर्च नभएपछि स्थानीय उपभोक्ता आक्रोशित भएका छन्।

यसै गरी जिल्लाका रन्मामैकोट, हुकाम, तकसेरा, बाँफिकोटलगायतका ठाउँमा पठाउने भनिएका खानेपानीका पाइपहरू जिल्ला सदरमुकामकै बाटोमा बेवारिसे छन्। सडक छेउमा पाइप राखेको महिनौं भइसकेको भए पनि खानेपानी डिभिजन कार्यालयले कुनै चासो देखाएको छैन। तर खानेपानी डिभिजन कार्यालयमा भने सो पाइप सम्बन्धित ठाउँमा पुगिसकेको भनी भर्पाइ गराइएको छ। सम्बन्धित ठाउँमा पुगेर काम भइसकेको भनी खानेपानी कार्यालयमा कागज राखिएको छ तर पाइप बाटोबाटोमा भेन्छिन्। गोदामको व्यवस्था नभएजस्तै बाटोबाटोमा पाइप अलपत्र अवस्थामा भेटिने गरेका छन्। यता खानेपानी डिभिजन कार्यालयका प्रमुख विकेश ओधानथाछेले ती पाइपहरू आफ्नो नभएर उपभोक्ताको भएको प्रतिक्रिया दिए। उनले सो बारेमा आफूलाई धेरै जानकारी नभएकाले अन्य कर्मचारीलाई सोध्नुहोला भनी पन्छिन खोजेका छन्। आफू १५ दिनदेखि बाहिरै रहेको उनले स्वीकार गरेका छन्। जिल्लामा कम बस्ने उनको बानी नै भएको कर्मचारीको दुखेसो छ।

यस्तै जिल्ला खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य सचिवसमेत रहेका ओधानथाछे जिल्लालाई पूर्ण सरसफाई बनाउने अभियानमा सक्रिय भएर नलागेको गुनासो समेत सर्वत्र उठेको छ। सन् २०२० भित्र रुकुम जिल्लालाई पूर्ण सरसफाइ जिल्ला घोषणा गर्ने लक्ष्यअनुसार अन्य निकायहरू सक्रिय भएर लागिरहेका बेला स्वयं खानेपानी डिभिजन प्रमुखले वास्ता नगरेको स्रोतले दाबी गरेको छ। डिवाससिसीको बैठकमा पनि नियमित उपस्थिति नहुनुले उनको जिल्लालाई सरसफाइ बनाउने अभियानमा उदासिनता भएको पुष्टि भएको डिवाससिसीका सदस्यहरूले बताउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्