रियल मेड्रिडले कीर्तिमान रच्यो



लन्डन, (एजेन्सी)
अन्तिम समयमा सर्जिओ रामोसले गोल गरेपछि रियल मेड्रिडले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभो ला कोरुनामाथि ३–२ को नाटकीय जित हात पारेको छ।
यो जितसँगैं रियल मेड्रिडले ३५ खेलमा अपराजेय भएको क्लबको नयाँ कीर्तिमान रच्यो। शनिबार भएको खेलमा क्रिस्टियानो रोनाल्डोबिना उत्रेको रियल मेड्रिड २–१ ले हार्नेतिर अग्रसर थियो। उनीहरूका लागि खेलमा फर्कन केबल ६ मिनेट समय बचेको थियो। तर जिनेदाइन जिदानको टोलीले सो ६ मिनेट सदुपयोग गर्दै ३–२ को नाटकीय जित हात पार्न सफल भयो। रियल मेड्रिडले बार्सिलोनामाथि ६ अंकको दूरी बनाएको छ। जबकि बार्सिलोनाले शनिबार राति भएको खेलमा ओसासुनालाई ३–० गोलको अन्तरले हराएको थियो।

पाँचै गोल दोस्रो हाफमा भएको थियो। जसमा पहिलो गोल अल्भारो मोराटाले करिब २० यार्डबाट गरेका थिए। ५०औं मिनेटमा भएको उक्त गोलसँगै रियल मेड्रिडले खेलमा १–० को अग्रता बनायो। डेपोरका वैकल्पिक खेलाडी जोसेलुले दुई मिनेटमा दुई गोल गरेर खेलको नक्सा नै बदलिदिए। उनले ६३औं र ६५औं मिनेटमा गोल गरेका थिए। डिपोर्टिभोको तीन अंक पक्काजस्तै भइसकेको अवस्था थियो।

तर यसलाई उल्ट्याउन एक गोल थपे रियलका वैकल्पिक खेलाडी मारियानो डियाजले। उनले निर्धारित समय ६ मिनेट बाँकी हुँदा गोल गरे। यसपछि रामोसले इन्जुरी समयमा गोल गर्दा रियलले तीन अंक छिनेको थियो। रामोसको गोलसँगै रियल मेड्रिडले १९८८–८९ मा ३४ खेलमा राखेको क्लबको अपराजेय कीर्तिमान तोडिएको थियो।

प्रतिक्रिया दिनुहोस्