लगानीकर्ताले उत्साह देखाएनन्



नेपाल समाचारपत्र
काठमाडौं
लगानीकर्ताहरूले पर्ख र हेरको अवस्थामा रहेका कारण साताको पहिलो दिन आइतबार शेयर बजार उत्साहप्रद देखिएन। पछिल्ला केही दिन निरन्तर ओरालो लागेको शेयर बजारले यस दिन पनि निरन्तरता पाएको छ। यस दिन नेप्से २१ दशमलव ८८ अंकले झरेर १५२२ दशमलव ८० अंकमा पुगेको छ। कुल १ सय ४१ कम्पनीको ७ लाख कित्ता शेयर ४० करोड ५५ लाख रुपियाँमा कारोबार भयो। कारोबार रकम अघिल्लो कारोबारको तुलनामा २० करोड रुपियाँले कम हो। लगानीकर्ताले शेयर खरिदमा खासै उत्साह नदेखाएको ब्रोकरहरूको भनाइ छ।
बजार घटेसँगै बजारको पुँजीकरण १६ खर्ब ९५ अर्ब रुपियाँमा कायम भएको छ। आइतबार कारोबारमा आएका समूहमध्ये उत्पादनबाहेक सबै समूहमा गिरावट आएको छ। बीमा समूह १४७, होटल समूह ६९, बैंकिङ समूह १८, जलविद्युत् समूह ७३, फाइनान्स समूह ११ र अन्य समूह २ अंकले ओरालो लागेको दिन कारोबारका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो। बैंकको ३ करोड १७ लाखको कारोबार भयो।

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीको २ करोड ७७ लाख रुपियाँको शेयर कारोबार भएको छ। यद्यपि, दुवै कम्पनीको शेयर मूल्यमा भने उच्च गिरावट आएको छ। कारोबार संख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी अगाडि रहेको छ। कम्पनीको ४३ हजार ६ सय कित्ता शेयर किनबेच भयो।

आइतबार अपि हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। त्यसपछि पोखरा फाइनान्स र अरुण फाइनान्स, सानिमा हाइड्रो, जेविल्स फाइनान्स, लुम्बिनी फाइनान्स लगायतका कम्पनी धेरै गुमाउनेमा परेका छन्। समग्र परिसूचकमा गिरावट आए पनि यसदिन नमस्ते वित्तीय संस्था र एनबी इन्स्योरेन्स, हिमालयन डिस्टलरीलगायत १६ वटा कम्पनीका लगानीकर्ताले भने कमाएका छन्।

त्यस्तै नेपाल स्टक एक्सचेन्जले चारवटा कम्पनीको समायोजन मूल्य तोकेको छ। नेप्सेका अनुसार शिखर इन्स्योरेन्सको समायोजन मूल्य प्रतिकित्ता २२५० रुपियाँ, छिमेक लघुवित्त कम्पनीेको समायोजन मूल्य प्रतिकित्ता १२५४ रुपियाँ, सगरमाथा फाइनान्सको समायोजन मूल्य प्रतिकित्ता २७६ रुपियाँ र नमस्ते वित्तीय संस्थाको समायोजन मूल्य प्रतिकित्ता ३९३ रुपियाँ तोकिएको छ।
यसैबीच नेपाल धितोपत्र बोर्डले नयाँ क्रेडिट रेटिङ संस्थालाई स्वीकृति दिएको छ। भारतको क्रेडिट एनलाइसिस एन्ड रिसर्च लिमिटेडलाई बोर्डले स्वीकृति दिएको हो। योसँगै नेपालमा अब क्रेडिट रेटिङका लागि दुई वटा संस्था भएका छन्। यसअघि इक्रा नेपाल मात्रै क्रेडिट रेटिङ गर्दै आएको थियो। कम्पनीको चुक्ता पुँजी ५ करोडमध्ये ५१ प्रतिशत शेयर क्रेडिट एनलाइसिस एन्ड रिसर्चको र बाँकी ४९ प्रतिशत शेयर नेपालीको हुने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्