हेटौंडा सिमेन्ट उद्योग १२ करोड ऋणमा



नेपाल समाचारपत्र
हेटौंडा
उद्योगमन्त्री नवीन्द्रराज जोशीले हेटौंडा सिमेन्ट उद्योग देशकै गौरव रहेको बताउनु भएको छ। उद्योगको व्यावसायिक उत्पादन थालेको ३१औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री जोशीले धेरै सरकारी उद्योग बन्द रहँदा पनि सञ्चालनमा रहेको उद्योग देशको गौरवका रुपमा रहेको बताउनु भएको हो।

उहाँले हेटौंडा सिमेन्ट उद्योगलाई सरकारले विशेष महत्त्व दिएको भन्दै यसको प्रवद्र्धन प्राथमिकतामा रहेको बताउनुभयो। यसलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउन भौतिक एवम् जनशक्ति व्यवस्थापनमा ध्यान दिइने मन्त्री जोशीको प्रतिबद्धता थियो।

मन्त्री जोशीले देशमा बन्द रहेका उद्योग चलाएर औद्योगिक वातावरण तयार गर्न सके बेरोजगारी हटाउन सकिने दाबी गर्नुभयो। बन्द उद्योग सञ्चालन गरे १० वर्षभित्र देशमा बेरोजगारी समस्या हट्ने बताउनुभयो। उहाँले बन्द सबै उद्योग सञ्चालनमा आए वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालमै काम गर्ने वातावरण तयार हुने बताउनुभयो।

सरकारी उद्योग धरासयी बन्दै जानुको कारण पहिल्याएर समस्या समाधानमा आफू जुटेको भन्दै मन्त्री जोशीले गुणस्तर र बजारमा प्रतिस्पर्धाका लागि तत्पर रहनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले उद्योगको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी १ अर्ब ५० करोड र चुक्ता पुँजी ९० करोड ६ लाख ८५ हजार रुपियाँ रहेको जानकारी दिनुभयो। उद्योगमा ९० करोड ६ लाख ८५ हजारको साधारण शेयर छ। उद्योगको ऋण दायित्व १२ करोड रुपियाँ रहेको कार्यक्रममा जानकारी दिइएको थियो। उद्योग अध्यक्ष रघुरमण न्यौपानेले विद्युत्को समस्यालाई निराकरण गर्न प्राधिकरणले ३ महिनादेखि उद्योगमा विद्युत् कटौती नगरेको जानकारी दिनुभयो। यसले गर्दा यस वर्ष ३० लाख २० हजार बोरा उत्पादन गरिने उहाँले दाबी गर्नुभयो।

उद्योगमन्त्री जोशीको पहलमा प्राधिकरणले ३ महिनायता उद्योगमा विद्युत् कटौती नगरेको उहाँको भनाइ छ। ‘यसको सकारात्मक प्रभावका कारण आगामी वर्ष सिमेन्ट उत्पादन वार्षिक ४० लाख बोरा पुर्याउने लक्ष्य छ, उहाँले भन्नुभयो। उहाँले उद्योगका पुराना कर्मचारी र प्राविधिकको साथ लिएर अगाडि बढिने स्पष्ट पार्नुभयो। २०३३ सालमा स्थापना भएको उद्योगले देशका थुप्रै सरकारी संस्थान आर्थिकरुपमा जर्जर भइरहेको अवस्थामा तुलनात्मकरुपमा केही सन्तोषजनक नतिजामा आफूलाई सुरक्षित अवतरण गरिरहेको भन्दै अध्यक्ष न्यौपानेले प्राविधिक समस्या समाधान गर्न आफूहरू लागेको बताउनुभयो।

‘उद्योगमा जडित करिब तीन दशक पुराना प्राविधिक संयन्त्र उपकरण आवश्यक जगेडा पूर्जा खोजीखोजी आपूर्ति गराएर मर्मतसम्भार गराइरहनु परेको छ, अध्यक्ष न्यौपानेले वास्तविकता पोख्नुभयो। अध्यक्ष न्यौपानेले हाल जगेडा पूर्जाको आकाशिँदो मूल्य, कोइला र विद्युत्लगायत कच्चापदार्थको महंगो मूल्यका कारण बढेको उत्पादन लागतलाई दृष्टिगत गरी कोइला, विद्युत् र मर्मतसम्भारमा हुने जगेडा पूर्जाको खपतमा न्यूनीकरण हुन नसक्नु उद्योगको समस्या रहेको बताउनुभयो।

उद्योग सरकारी स्वामित्वको भएकाले सिमेन्टको बजार माग र आपूर्तिमा सन्तुलन कायम गर्न यसको अहम् भूमिका रहने भन्दै उहाँले निजीस्तरका सिमेन्ट उद्योगहरूबाट हुनसक्ने बजार एकाधिकारमाथि नियन्त्रण र नियमन गर्न सघाउ पुर्याएर हेटौंडा सिमेन्ट निरन्तर सञ्चालनका लागि योगदान पुर्याउनु आवश्यक भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्