सुनको मूल्यसँगै माग पनि घट्यो



Falling price for gold concept isolated on white background

दीपेन्द्र थापा, काठमाडौं
गातार ओरालो लागेको मूल्यमा आइतबार थप गिरावट आएको छ। आइतबार फागुन महिनायताकै सस्तो मूल्यमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार सुन प्रतितोला ५२ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो। यो अघिल्लो साताको कारोबारभन्दा चार सय रुपियाँले कम हो।
महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उतारचडाव हुँदै आएको हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको छ। महासंघका अनुसार मंसिर महिनाको शुरूदेखि नै सुनको मूल्य ओरालो लाग्दै गएको छ। यो महिनामात्रै सुन प्रतितोला ३ हजार रुपियाँले घटेको छ। यसअघि २०७२ माघ २२ गते सुनको मूल्य ५२ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो। त्यस यता कुनै सुनको मूल्य ५३ हजार रुपियाँभन्दा ओरालो झरेको थिएन। भारतले पाँच सय र हजार दरका नोटमाथिको प्रतिबन्ध हुनुले पनि सुनको मूल्य कमजोर हुनुको कारण मानिएको छ।

मूल्य घटिरहेकाले अत्यावश्यक भएका ग्राहक बाहेक अन्य ग्राहक अझै घट्ने आशामा सुन किन्न दोधारमा छन्। शाक्य भन्नुहुन्छ–‘दुई साता अगाडि प्रतिदिन ३५ किलोभन्दा माथि माग रहेकोमा हाल प्रतिदिन २५ किलोमा झरेको छ। विवाहको लगन अन्तिम समय भएकाले पनि मागमा कमी आएको उहाँको भनाइ छ।
नेपाली बजारमा सुनको मूल्यमा गिरावट हुने क्रम अझै केही साता जारी रहने अनुमान गरिएको छ। शाक्यका अनुसार प्रतितोला सुन ५० हजारको हाराहारीमा झर्न सक्ने अनुमान गरिएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपियाँले घटेर ७ सय ८५ रुपियाँमा कारोबार भएको छ। विवाहको लगन भएको मंसिर महिनामा सुनको मूल्य घट्दा उपभोक्तालाई राहत पुगेको छ। शुक्रबार सुन वर्षकै सबैभन्दा कम मूल्यमा सुन बिक्री भएको थियो।

विश्व बजारमा सुनको कारोबारमा मन्दी आएको छ। समाचार एजेन्सीहरूका अनुासर विगतको भन्दा माग ९० प्रतिशत कम भइसकेकाले सुनको मूल्य लगातार घटाउन ऊर्जा दिइरहेको छ। ग्लोबल मार्केटमा सुनको मूल्यमा अझै २० प्रतिशतसम्म गिरावट आउने आँकलन पनि गर्न थालिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मागभन्दा आपूर्ति धेरै भएका छ। मानिसले आफूसँग भएको सुन बिक्री गरी डलरमा लगानी गर्न थालेका कारण सुनको मूल्य घट्दै गएको समाचार एजेन्सीहरूले जनाएका छन्। विश्व बजारमा सुनको मूल्यमा गिरावट आउँदा अमेरिकामा बैंकको ब्याजदर बढ्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्