टर्कीमा दुई शक्तिशाली विस्फोट, ३८ को मृत्यु



इस्तानबुल, (एजेन्सी) टर्कीको इस्तानबुल शहरमा भएको दुई शक्तिशाली विस्फोटमा मर्नेको संख्या बढेर ३८ पुगेको छ। मारिनेमा धेरैजसो प्रहरी अधिकारी छन्। उक्त घटनामा १ सय ६० भन्दा धेरै घाइते भएको समाचारमा जनाइएको छ।
पहिलो विस्फोट एउटा फुटबल स्टेडियमको बाहिर रोकेको प्रहरी बसलाई निसाना बनाएर गरिएको थियो। उक्त विस्फोट टर्कीको दुई चर्चित फुटबल टोलीबीचको खेल भएको एक घण्टापछि भएको हो।

त्यसको केही समयपछि नजिकको एउटा पार्कमा एक जना आत्मघाती बम आक्रमकारीले आफूलाई विस्फोट गराएका थिए। दोस्रो विस्फोटपछि गोलाबारी भएको आवाज सुनिएको थियो। टर्कीका गृहमन्त्रीले उक्त विस्फोटलाई लिएर १० जनालाई पक्राउ गरिएको जानकारी दिए। ती हमलाका लागि कुर्दिस पृथक्तावादीलाई जिम्मेवार ठहर्याइएको जनाइएको छ। १६ महिना अगाडि समाप्त भएको संघर्ष विरामपछि कुर्दिस पृथक्तावादीले सुरक्षा बलमाथि आक्रमण गर्दै आइरहेका छन्।
यद्यपि अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै संगठनले लिएको छैन। तर टर्कीमा यसअघि सुरक्षाबलमाथि हुने गरेका धेरैजसो आक्रमणमा कुर्द कट्टरपन्थी वा इस्लामिक स्टेटलाई जिम्मेवार ठहर्याउने गरेको छ।

घटनास्थलमा एम्बुलेन्स र प्रहरीको गाडीहरू कुदिरहेको देखिन्थे। टेलिभिजन फुटेजमा पनि स्टेडियम बाहिर आगोको लप्का उठिरहेको देखाइएको थियो। टर्कीमा ठूला शहरमा कट्टरपन्थी आक्रमणको घटना हालैका महिनामा बढिरहेको छ। यस प्रकारका हिंसाका कारण धेरैले आफ्नो ज्यान गुमाएका छन्। इस्तानबुलमा पछिल्लोपटक सबैभन्दा ठूलो आक्रमण गत जुनमा विमानस्थलमा भएको थियो। उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो।

यो वर्ष टर्कीमा भएका ठूला हमलाहरू
अगस्ट २०ः गाजियानटेपमा एउटा विवाह समारोहमा भएको विस्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको थियो । उक्त आक्रमणका लागि इस्लामिक स्टेट जिम्मेवार रहेको आशंका गरिएको थियो ।
जुलाई ३०ः टर्कीको सेनाले एउटा सैन्य ठेगानामाथि आक्रमण गर्ने प्रयासमा रहेका ३५ जना कुर्दलाई मारेका थिए ।
जुन २९ः इस्तानबुल अतातुर्क विमानस्थलमा भएको बम आक्रमणमा ४१ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।
मार्च १३ः राजधानी अंकारामा कुर्द कट्टरपन्थीहरूबाट गराइएको आत्मघाती विस्फोटमा ३७ जनाको मृत्यु भएको थियो ।
फेब्रुअरी १७ः अंकारमा एउटा सैन्य दस्तामाथि भएको आक्रमणमा २८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्