सडकको धुलोले बस्तीमा बस्नै मुस्किल



नरेन्द्र केसी, घोराही, दाङ
दिनमा सयौंको संख्यामा चल्ने टिप्परले उडाएको धुलो सोझै घरभित्र पस्न थालेपछि दाङको घोराही–मुर्कुटी सडक आसपासको बस्ती जोखिम परेका छन्। सगरमाथा सिमेन्ट उद्योगका लागि चुनढुंगा लिन जाने दिनमा ५ सय बढी टिपर यो रुटमा चल्ने गरेका छन्।

जसले निकाल्ने धुलो बस्तीभित्र पस्दा सडक आसपासका गाउँमा बस्न समस्या भएको छ भने सडक छेउका विद्यालयमा अध्ययनरत विद्यार्थीको अवस्था पनि निकै सकसपूर्ण हुने गरेको छ। यो रुटमा टिपरबाहेक दैनिक ८ वटा बस र अन्य गाडी पनि चल्ने गरेका छन्।

धुलैधुलोका कारण यो रुटका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको अवस्था पनि निकै सकसपूर्ण हुने गरेको स्थानीय नीमबहादुर घर्तीले जानकारी दिनुभयो। ‘धुलो सडकमा मात्रै छैन, अधिकांशको घरभित्रसम्म धुलो पुगेको छ, उहाँले भन्नुभयो– ‘घरभित्रका कपडा, पिउने पानीसमेत जोखिमपूर्ण अवस्था राख्ने गरिएको छ।

घोराही–मुर्कुटी सडक खण्डको लक्ष्मीपुर गाविस–५ का सवारीकोट, गोठधारा, छेकबार, जस्पुर, कुमाकी र अम्लबासका करिब साढे ३ सय घरमा समस्या देखिएको स्थानीयबासीले बताएका छन्। यी ठाउँमा हिँड्नलाई कुनै ठाउँ छैन भने तरकारी रोपेर खान लायक पनि नभएको स्थानीय दुर्गाबहादुर घर्तीले जानकारी दिनुभयो। ‘बस्तुभाउलाई खुवाउने घाँस धुलोले ढपक्कै ढाक्दा बस्तुभाउ पनि प्रभावित भएका छन्, उहाँले भन्नुभयो– ‘बिहान स्कुल गएका बालबालिका घर फर्किंदा परिवारले चिन्ने अवस्थाका हुँदैनन्, धुलाम्य भएर आउँछन्।

यति धेरै समस्या भए पनि धुलो नियन्त्रणमा सिमेन्ट उद्योगले चासो नदेखाएको स्थानीयको गुनासो छ। स्थानीय आन्दोलन गर्दा सडकमा ट्यांकरबाट पानी हाल्ने गरे पनि त्यसबाट मात्र समस्या समाधान नहुने गुनासो छ। ‘यति लामो सडकमा एउटा ट्यांकरले पानी हालेर मात्र हुँदैन, घर्तीले भन्नुभयो– ‘यो ठाउँमा चाँडोभन्दा चाँडो सडक कालोपत्रे गरिनुपर्छ नत्र हामी सडक नै बन्द गर्ने अवस्थामा पुगेका छौं।

यसैबीच धुलोका कारण स्वास्थ्य र वातावरणमा गम्भीर असर परेपछि त्यहाँका नागरिकहरूको आम भेलाले कृष्णा बुढाको अध्यक्षतामा ९ सदस्यीय धुलो नियन्त्रण सरोकार समिति गठन गरेको छ। सरोकार समितिको सचिवमा रेशम घर्ती, सदस्यहरूमा टोपबहादुर घर्ती, उदीप घर्ती, कृतबहादुर पुन, चित्रवीर पुन, अनन्तप्रसाद सुवेदी, भीमसेन पुन र देवी घर्ती रहनुभएको छ। उद्योगले पूर्णरूपमा धुलो नियन्त्रणका लागि चासो नदिने र सडक डिभिजन कार्यालयले समयमै कालोपत्रे नगर्दा साढे ३ सय घरपरिवारहरू धुलोकै कारण मर्नुपर्ने अवस्था आएको गाउँलेले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्