बाहिरी चक्रपथमा कुस्ती



सुरेश तामाङ, काठमाडौं
बाहिरी चक्रपथ योजनाअन्तर्गत निर्माण हुने सडकको सम्पूर्ण काम आफूलाई दिन सडक विभागले विभिन्न मन्त्रालयसँग लबिङ गरिरहेको पाइएको छ। स्रोतका अनुसार विभाग परियोजनाको जग्गा विकास, बस्ती विकासबाहेक सडक निर्माणको काम आफूले गर्न पाउनुपर्छ भन्दै चालु आर्थिक वर्षमा बजेट छुटइउनसमेत सफल भएको छ।

जानकारहरूले सडक विभागको यस्तो प्रवृत्तिलाई परियोजनाको काममा भाँजो हाल्ने कदम भनेका छन्। परियोजना स्थापना भएको एक दशक बितिसक्दा बल्ल बन्न लागेको बेला परियोजनाको कामलाई सहयोग गर्नुको साटो बजेट अन्तै पारेर आयोजनालाई कमजोर बनाउन खोजिएको जानकारहरूको आरोप छ। बाह्य चक्रपथ योजना शीर्षकमा सडक विभागले चालु आर्थिक वर्षमा ४ करोड ९० लाख बजेट पाएको छ।

उता परियोजनाले साढे ३ करोड पाएको थियो। यति मात्रै फरक छ, परियोजनासँग विस्तृत योजना छ भने सडक विभागसँग त्यो छैन। जसका कारण सो विनियोजित बजेट खर्च गर्ने बाटो नदेखेपछि सडक विभागले विभिन्न ठाउँमा हारगुहार नै गरेको छ।

व्यवस्थापिका–संसद् विकास समितिले वार्षिक रूपमा विनियोजन हुने विकास बजेट समयमा नै खर्च नहुनेलगायतका कारणले गर्दा समयमा नै विकास आयोजनाहरू पूरा नहुने तथा लागत बढ्न जानेजस्ता समस्याहरू एवं समाधानका सम्बन्धमा गत बिहीबार बैठक डाकेको थियो।

जहाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्री, मुख्य सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, अर्थ मन्त्रालयका सचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत सम्बद्ध पदाधिकारीहरूसँग छलफल भएको थियो।

सो बैठकमा सडक विभागका उपमहानिर्देशक दयाकान्त झाले बाहिरी चक्रपथअन्तर्गतको सडकको काम गर्न सडकसँग बजेट रहेको तर काम गर्न ठाउँ नपाएको गुनासो गर्नुभएको थियो। उहाँले बैठकमा भन्नुभयो– ‘हामीसँग बजेट छ तर खर्च गर्ने ठाउँ पाइएन, यहाँहरूले पहल गरिदिनूहोस्।

तर, स्रोतका अनुसार विभागले परियोजनासँग सहकार्य गर्नुको सट्टा विकास समितिहुँदै भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयसम्म काम गर्न पाउनुपर्छ भन्दै लविङ गरेको पाइएको छ। विभागका उपमहानिर्देशक झा स्वयंले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीलाई बाहिरी चक्रपथको सडक निर्माण भन्दै बजेट आएको छ । तर, कहाँ कसरी काम गर्ने त्यो ठेगान लागेको छैन।

नेपालभरको सडकको काम गर्ने हाम्रो जिम्मा हो, उहाँले भन्नुभयो , जिम्मा भएअनुसार त त्यो पनि हामीले बनाउन पाउनु पर्यो भन्ने हाम्रो माग हो। परियोजनाले गर्नुपर्ने काम जग्गा प्राप्ति र बस्ती विकास गरोस् त्यसबाहेक हामी सडक बनाउँछौं। परियोजनाले सहयोग गर्नुपर्छ, उहाँको भनाइ थियो। ‘हामीले अर्थसँग कुरा राखेका छौं। अर्थले यसको बारे बुझेर निर्णय लिने जवाफ दिएको छ –उहाँले भन्नुभयो।

त्यस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले सडक विभागले काम गर्ने हो भने कुनै आपत्ति नरहेको तर विस्तृत योजनाअनुसार गर्नुपर्ने धारणा राख्नुभयो। अरूले काम गर्न सबै प्रकृया सक्काएपछि अब हामी बनाउँछौं भनेर आउनु सजिलो काम होइन उहाँले भन्नुभयो– ‘सडक जसरी अघि बढे पनि बढोस्। हामी हाम्रो योजना र डिजाइनअनुसार चल्छौं। परियोजनाले नै बाहिरी चक्रपथ बनाएरै छोड्छ,उहाँले भन्नुभयो।

त्यस्तै बाहिरी चक्रपथ योजनाका प्र्रमुख दीपक श्रेष्ठले परियोजनाले विभिन्न प्रकृतिका आरोह अवरोह पार गर्दै एक दशक बिताइसकेको जानकारी दिँदै परियोजना आफैंले जग्गा विकास, बस्ती विकास र सडक निर्माण गरी निर्माण सम्पन्न गर्ने क्षमता राख्ने ठोकुवा गर्नुभयो।

७२ किमि लामो बाहिरी चक्रपथको परियोजनाले पहिलो चरणको काम गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पास गराएर फिल्डमा खट्ने योजना बनाएको छ। जहाँ परियोजनाले एक दशकको अवधिमा हालसम्म ९ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्