सीमांकन हेरफेर अघि बढे प्रतिकार



अनिल खत्री, गुल्मी
रकारले आफ्ना माग सुनुवाई नगरेपछि गुल्मीमा लौरे जुलुस प्रदर्शन भएको छ। सरकारले संविधान संशोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्रइएको विरोधमा गुल्मीमा जारी आन्दोलनमा गुल्मीका विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज, लोक तथा दोहोरी गीत प्रतिष्ठान, स्थानीयबासीले विरोध गर्दै लौरा लिएर प्रतीकात्मक विरोध स्वरूप सडकमा उत्रिएका हुन्।

वर्तमान सरकारले आन्दोलन चलिरहेको यतिका दिन बित्दा समेत कुनै सुनुवाइ गर्नतर्फ नलागेको भन्दै उनीहरूले प्रतीकात्मकस्वरूप लौरा हातमा लिएर उत्रिएको बताएका छन्। हाम्रो माग सुनुवाइ गर्नतर्फ कुनै चासो नदेखाएको भन्दै उनीहरूले यही माग पूरा गर्न सरकार तयार नभए प्रतिकार गर्न पनि पछि नहुने भन्दै लौरा जुलुस निकालिएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ।

जिल्लाको सदरमुकाम तम्घासको जिल्ला प्रशासन अगाडिबाट उनीहरूले बजारका विभिन्न स्थानमा हातमा लौरा लिएर नाराबाजीसमेत गरेका थिए। विरोध कार्यक्रममा सीमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्रइउन पाइँदैन, राष्ट्रघाती प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ जस्ता नारा लगाउँदै विरोध गरिरहेका छन्। लौरे जुलुस प्रदर्शनपछि कोणसभासमेत सम्पन्न भएको छ।

कोणसभामा कविता तथा विभिन्न सांगीतिक प्रस्तुतिमार्फत् सरकारलाई अविलम्ब माग सुनुवाइ गर्न सुल्झाएका थिए। उनीहरूले सरकारलाई जनभावना विपरीत कदम तुरुन्त फिर्ता लिन समेत चेतावनी दिएका छन्।

अनिश्चितकालीन बन्दले गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ। सरकारले संविधान संशोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्रइएको विरोधमा गुल्मीमा ११ दिनदेखि अनिश्चित्कालीन बन्दले जनजीवन कष्टकर बन्दै गएको छ। जिल्लाको आन्दोलनलाई सशक्त बनाउन भन्दै यही मंसिर २७ गते बृहत् सभा गर्ने निर्णय गरेको छ। समितिको सम्पन्न बैठकले गुल्ममीसँग सम्बन्धित सम्पर्कलाई ५ नम्बरका प्रतिनिधित्व गर्ने सभासद्को भेला आयोजना गर्न आग्रह गर्ने निर्णयसमेत गरेको छ। सभामा गुल्मीका केन्द्रीय नेता तथा सभासद्ले सम्बोधन गर्ने संयुक्त अन्दोलन समिति गुल्मीका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्