करियरलाई फेका कप उपाधि



काठमाडौं, (नेस)
करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले ११ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नवौं संस्करणको उपविजेता करियरले पहिलो संस्करणको विजेता न्यु स्टार पोललाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्यो । करियरबाट विवेक खवास, जीवन धामी, जीवन लामा, विदेश राई र आकाश शाहले गोल गरे । न्यु स्टारका तर्फबाट रुपेश बस्नेत, दीपेश बस्नेत र कृतन अर्यालले गोल गरे ।
निर्धारित ७० मिनेटको खेल र थप गरिएको १५ मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा एक गोल बचाएका करियरका न्युसन श्रेष्ठ फाइनल खेलको ‘म्यान अफ द म्याच’ चुनिए । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा तेश्रो स्थानका लागि भएको खेलमा कस्मिकले हाइल्यान्डलाई १–० गोलले हराएको थियो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । चौथो हुने हाइल्यान्डलाई ५ हजार नगद पुरस्कार प्रदान गरियो ।

करियरका खेलाडीद्धय विवेक खवास उत्कृष्ट खेलाडी र सुजन भट्टराई उदीयमान खेलाडी, न्यु स्टारका खेलाडीद्धय सुमन खत्री उत्कृष्ट डिफेन्डर र साजन गिरी उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ४ गोल गरेका कस्मिकका रञ्जन गुरुङ सर्वाधिक गोलकर्ता बने । गोल्डेन बड स्कुलले अनुशासित टिमको उपाधि हात पार्यो ।

प्रतिक्रिया दिनुहोस्