४५ लाख कित्ता शेयर थप



काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ६ कम्पनीको ४५ लाख ६२ हजार ७ सय ८५ कित्ता शेयर सूचीकृत भएको छ। जसमध्ये नेसनल माइक्रो फाइनान्स र आरएसडीसी लघुवित्त कम्पनीको साधारण शेयर १०⁄१० लाख कित्ता सूचीकृत भएको छ भने फस्र्ट माइक्रो फाइनान्सको बोनस शेयर ३ लाख ४५ हजार कित्ता, मालिका विकास बैंकको ७ लाख ६ हजार ८ सय ३५ कित्ता बोनस, सिद्धार्थ फाइनान्सको ३ लाख ५५ हजार ९ सय ५० कित्ता बोनस र रिडी हाइड्रोपावर कम्पनीको ११ लाख ५५ हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

निक्कै उतारचडावमा रहेको यस साताको शेयर बजारमा साताभर १५४ कम्पनीको २३ हजार ३ सय २१ कारोबारबाट ३ अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरको ४२ लाख ९८ हजार २ सय कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार साताको पहिलो दिनको तुलनामा २६ दशमलव २७ अंकले घटेर नेप्से परिसूचक १५४४ दशमलव ६८ अंकमा पुगेको छ। यस साता बजारका साथै कारोबार रकममा समेत ४३ दशमलव ६३ प्रतिशतको गिरावट आएको छ। अघिल्लो साता १५२ कम्पनीको ३७ हजार ४ सय ३६ कारोबारबाट ५ अर्ब ८३ करोड २५ लाख ३५ हजार रुपियाँ बराबरको ७४ लाख ६१ हजार ३ सय १० कित्ता शेयर किनबेच भएको थियो।

साताभर कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ३५ करोड ४४ लाख ७० हजार रुपियाँको भएको थियो। त्यस्तै ३ लाख १४ हजार कित्ता शेयर कारोबार गर्दै शेयर संख्याका आधारमा सिद्धार्थ बैंक अगाडि रहेको छ। सिद्धार्थ बैंकको नै १ हजार ८ सय ४८ पटक शेयर कारोबार भई कारोबार संख्याका आधारमा अगाडि रहेको थियो। त्यसबाहेक एभरेष्ट बैंक, मेगा बैंक र बैंक अफ काठमाडौं लुम्बिनीको शेयर कारोबार उच्च भयो। बजारमा निर्णयक भूमिका खेल्ने वाणिज्य बैंक समूह २९ अंकले ओरालो लाग्दा साताभरको कारोबारमा व्यापार समूह भने स्थिर रहेको छ। त्यस्तै उत्पादन बाहेका सबै समूहका परिसूचकमा गिरावट आएको छ। नेप्सेले जनाएको छ। यस साता ‘क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव ३७ अङ्कले घटेर ३३४ दशमलव ४३ अंकमा आइपुगेको छ।

यसैबीच नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा अब एक कित्ता शेयरको पनि किनबेच गर्न पाइने भएको छ। नेप्सेले नियमित कारोबारमा बजारमा मूल्य प्रभावित नहुने गरी १० कित्ताभन्दा कमको समेत किनबेच हुन सक्ने व्यवस्था मिलाउनको लागि सिस्टम निर्माता कम्पनी कम्ड्याकलाई निर्देशन दिएको छ। नेप्सेले शुक्रबार विज्ञप्ति जारी गर्दे अबको एक महिनाभित्रमा दोस्रो बजारमा एक कित्ता सेयरको पनि किनबेच गर्न सकिने प्रणाली परिक्षणमा जान सकिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्