धमाधम बुकिङ रद्द



भारतले भारु पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धको प्रभाव नेपालको होटल व्यवसायमा पनि देखिएको छ। भारतीय नोटको सटही समस्याका कारण भारतीय पर्यटकले आफ्नो भ्रमण रद्द गर्दै होटलमा बुकिङ रद्द गर्नुका साथै नयाँ बुकिङमा कमी आएको छ।

भूकम्प र नाकाबन्दीका कारण धरासायी बन्दै गएको होटल व्यवसाय यतिबेला भारु ठूला नोटमा भएको प्रतिबन्धका कारण भारतीय पर्यटकको आगमनमा पनि मन्दी आएको छ। होटल संघ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘अहिले ७५ प्रतिशत आन्तरिक पर्यटनले व्यवसाय धानिएको छ। विगतको तुलनामा अहिले कारोबारमा निकै मन्दी आएको अध्यक्ष शाक्यले बताउनुभयो।

होटल क्षेत्रको कुल पर्यटक ग्राहकमध्ये ३५ प्रतिशत भारतीय पर्यटक हुने गरेकामा भारु नोटको प्रतिबन्धपछि पाँच प्रतिशतसम्म कमी आएको हानले जनाएको छ। तर, होटल व्यवसाय नै धरापमा पर्ने अवस्था सिर्जना नभएको पर्यटन विभागले जनाएको छ। होटल व्यवसायमा मन्दी आएको तर होटलहरु तुरुन्तै बन्द हुने अवस्था नभएको विभागका निर्देशक दुर्गादत्त ढकालले बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘भारु ठूला नोटको सटहीमा भएको समस्याका कारण होटलहरुको व्यवसायमा प्रभाव परे पनि बन्द हुने गरी प्रभाव नपरेको तथा त्यस्ता खालका गुनासो होटल व्यवसायीहरुबाट आएको छैन।

होटल व्यवसायमा मर्का पर्न थालेपछि हानले त्यसको समाधानका लागि पर्यटन प्रवद्र्धन गर्न प्रचारप्रसार गर्ने भएको छ। हानले आगामी फेब्रुअरी ४ तारिखदेखि एक हप्तासम्म प्रचारप्रसार गर्ने भएको छ। हानले भारतको बैंग्लोर र मुम्बईलगायतका ठूला शहरमा प्रचारप्रसार गर्ने जनाएको छ। उक्त प्रचारप्रसारमा नागरिक उडड्यनमन्त्री, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, हानका पदाधिकारी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहने हानले जनाएको छ। प्रचारप्रसारका क्रममा भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिने भएको हो।

भारु पाँच सय र हजार दरका प्रतिबन्ध भएको महिना दिन पुग्दा पनि नेपाल राष्ट्र बैंकले भारु सटही सम्बन्धमा ठोस प्रगति हासिल गर्न सकेको छैन। नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘ भारतले हालसम्म कुनै जवाफ नपठाएको र अहिलेसम्म भारु पाँच सय हजार दरका नोटको कुनै टुंगो लागेको छैन।

प्रतिक्रिया दिनुहोस्