दश वर्षदेखि नक्कली अमेरिकी दूतावासले भिसा बेच्दै



आक्रा, (एजेन्सी)
एउटा संगठित गिरोहले घानामा नक्कली अमेरिकी दूतावास सञ्चालन गरी विगत एक दशकदेखि ६ हजार अमेरिकी डलर लिएर सक्कली अमेरिकी भिसा बिक्री गर्दै आएको खबर हालै विश्वभरि फैलिएको छ। अमेरिकी विदेश विभागले घाना र टर्कीका संगठित आपराधिक समूहहरूले उक्त नककली दूतावासमार्फत अमेरिकी राष्ट्रपति बाराक ओबामाको र अमेरिकी झण्डाको हुबहु नक्कल गरी यो कारोबार गर्दै आएको जनाएको छ।

जीर्ण भवनमा सञ्चालित उक्त दूतावास वास्तवमा हेर्दै सक्कली दूतावासभन्दा अलि भिन्न त थियो नै तर आक्रास्थित पत्रकार साम्मी डार्कोले सम्भवत त्यहाँ भिसाका लागि आउने मानिसहरूमा पहिला कुनै दूतावासमा छिरेको अनुभव नभएकाले पनि उनीहरू सजिलै ठगिन पुगेको बताउँछन्।

सायद त्यहाँ गोरा मानिसहरू पनि देखिने गरेकाले तिनीहरू त्यो अमेरिकी दूतावास नै हो भन्ने भ्रममा पर्ने गरेको बताइएको छ। सो दूतावासले पोल खुल्ने डरले अधिकांश पश्चिम अफ्रिकाका विकट क्षेत्रहरूमा ग्राहक खोज्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ। तिनीहरूले यसरी जालमा फसाइएका ग्राहकहरूलाई राजधानी आक्रामा ल्याएर नजिकैको होटेलमा राख्ने गर्दथे।

अमेरिकी विदेश विभागले तिनीहरू आफ्नो काम पटइउन सम्बन्धित भ्रष्ट कर्मचारीहरूलाई भनेजति घुस दिन पनि खप्पिस रहेको जनाएको छ। यस काण्डलाई लिएर गत २ नाभेम्बर विशेष सुरक्षा कारबाही गरी थुप्रै व्यक्तिलाई पक्राउ गरिएको थियो। अझै थुप्रै फरार आशंकित व्यक्तिको खोजी भइरहेको छ। घानाको प्रहरीले तिनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। तुर्केली अपराधि समूहको पनि व्यापक खोजी भइरहेको बताइएको छ।

सो दूतावासले घाना, आइभोरी कोस्ट र टोगोमा पनि आफ्नो सेवाबारे विज्ञापन गर्ने गरेको बीबीसीले जनाएको छ। छापा मार्ने क्रममा त्यहाँबाट १० वटा राष्ट्रका १ सय ५० वटा पासपोर्ट अधिकारीहरूले फेला पारेका छन्। तर यस्तो संवेदनशील घाटनालाई सञ्चारमाध्यमले ३ डिसेम्बरमा मात्र खुलासा गर्नुलाई पनि रहस्यमय मानिएको छ।

प्रतिक्रिया दिनुहोस्