बम विस्फोटमा ३१ को मृत्यु



अबुजा, (एजेन्सी)
नाइजेरियाको मादागाली शहरमा शुक्रबार भएका दुईवटा बम विस्फोटमा कम्तीमा ३१ जना व्यक्तिको ज्यान गएको एकजना सैनिक प्रवक्ताले बताएका छन्। ती आत्मघाती बम विस्फोट दुईजना महिलाले गराएको बताइएको छ।

नाइजेरियाको आपत्कालीन व्यवस्थापन निकायले ट्विट गर्दै स्थानीय बजारभित्र महिला आक्रमणकारीहरूले आईईडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) विस्फोट गराएको जनाएको छ। उत्तरपूर्वी नाइजेरियाको एडामावा राज्यको मादागालीका बासिन्दाहरूले यस घटना थुप्रै व्यक्ति घाइते भएको जनाएका छन्।
सैनिक प्रवक्ता मेजर बादारे अकिन्तोयले उक्त क्षेत्रको सम्पूर्ण सुरक्षा स्थिति सेनाको नियन्त्रणमा रहेको बताएका छन्। कट्टरपन्थी इस्लामिक समूह बोको हरामको जन्मथलो मानिने बोर्नो राज्यको सिमानासँग मादागाली जोडिएको छ।

सन् २०१५ मा सेनाले सो क्षेत्र लडाकूहरूको हातबाट फुत्काएयता त्यहँ थुप्रै आक्रमण र अपहरणका घटना भइसकेका छन्। फलस्वरूप त्यहाँका बासिन्दालाई व्यापार, व्यवसाय र अन्य दिनचर्या चलाउन निकै कठिन भइरहेको छ। सो क्षेत्रका वरपरका जंगलामा बोको हरामका लडाकूहरूले शिविर स्थापना गरेकाले सुरक्षा कारबाही गर्न स्थानीय बासिन्दाले सरकारलाई गुहारिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्