संघीयता विकृत भएको हो ?



संविधान संशोधन विधेयकका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीव्र विरोध गरिरहेको बेला सत्तारुढ दलका वरिष्ठ नेताले नै संविधान सशोधन विधेयक संसद्बाट पारित नहुने ठोकुवा गरेपछि सरकार नै अप्ठेरोमा परेको पाइएको छ ।

आफ्नै पार्टीका नेतालाई समेत संविधान संशोधनमा चित्त बुझाउन नसक्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अहिले गम्भिर मोडमा उभिन पुग्नुभएको छ । माओवादी केन्द्रका वरिष्ठ नेता तथा संसदीय दलका उपनेतासमेत रहनुभएका टोपबहादुर रायमाझीले संविधान संशोधन विधेयक अहिले कुनै नेपालीको हितमा नरहेको र यसले मुलुकमा बिग्रह ल्याउने बताउनुले पनि संविधान संशोधन किन र कसका लागि भन्ने प्रश्न उठेको छ ।

मुलुकमा संघीयताले गर्दा अस्थिर अवस्था र्सिजना भएको निष्कर्ष आम नेपालीले निकाली रहेको अवस्थामा सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले कसैको पनि हित नगर्ने आम जनताको बुझाइ छ । तर, प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधयेक अहिलेको आवश्यकता भएको बताउँदै संसद्बाट विधेयक पास हुने दावी गर्नुले संविधान संशोधन किन र कसका लागि भन्ने गम्भिर प्रश्न खडा भएको छ ।

आन्दोलनरत मधेसी मोर्चाले समेत अहिलेको संशोधनले आफूहरुका माग सम्वोधन गर्न नसक्ने बताइरहेको र सत्ता गठबन्धनका नेताले संविधानको विरोध गर्नुले मुलुकमा गम्भिर प्रकारको मुठभेड सिर्जना हुने त होइन भन्ने प्रश्न खडा गरिदिएको छ ।सत्तारुढ दलका नेता नै रहेका रायमाझीले जनताले अस्वीकार गरेको संविधान संशोधन गणितीय रूपमा पनि पास नहुने र मागेजति समूहको माग सम्वोधन गर्न संविधान संशोधन हुन नसक्ने बताउनुले पनि मुलुकको संघीयता गम्भिर मोडतर्फ पुगेको हो कि भन्ने आशंका पैदा गरिदिएको छ ।

मुलुकमा लागू भएको संघीयता अब जनतालाई बुझाउन नसक्ने गरी बिकृत भएको ठम्याइमा पुग्नुभएका नेता रायमाझीले संविधान संशोधनलाई मुल्तबीमा राखेर मुलुकलाई चुनावतर्फ लैजानुपर्ने नेता रायमाझीको भनाइले नेपालमा संघीयता लागू हुनेमा शंका पैदा भएको छ भन्नु अतिशयोक्ती नहोला ।

संविधान संशोधन विधेयकका कारण अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त विरुद्धको महाभियोगसमेत ओझेलमा परेको र संस्थागत हुँदै गएको गणतन्त्रसमेत धरापमा पर्दै जान थालेको आभाष हुन थालेको छ । यसतर्फ सबै चनाखो हुनुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्