वेहोशीलाई जनस्तरबाट सम्मान



अनेक अभाव र पीडाका बीच सिंगो जीवन नै गीतसंगीतमा समर्पित गर्दै आएका वरिष्ठ कलाकार रत्न बेहोसी वज्राचार्यलाई जनस्तरबाट बृहत सम्मान गरिने भएको छ। नेपाल र नेपाली भाषाका सयौं गीतको रचनासमेत गरी स्वर र संगीत दिइसकेका बेहोसीको सम्मानमा कलाकार परिषद्ले आगामी पुस २ गते सो सम्मान गर्न लागिएको संयोजक सुरज व्यञ्जनकारले पत्रकार भेटघाटमा जानकारी गराए।

‘जीवनमा अनेक अभाव र संघर्षका बीच आफ्नो कला र प्रतिभालाई जीवन्त बनाइरहनुभएका कलाकारलाई जनस्तरबाट सम्मान गर्न लागिएको होु परिषद्का संयोजक व्यञ्जनकारले भने। परिषद्का अनुसार सम्मान कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा बेहोसीलाई दोसल्ला ओढाइ अभिनन्दनपत्र र सम्मानस्वरूप नगद प्रदान गरी सम्मान गरिनेछ भने दोस्रो चरणमा कलाकार बेहोसीका लोकप्रिय गीतहरू नयाँ र पुराना तथा प्रतिष्ठित गायकहरूले गाउने छन्। गायक गायिका अमरराज शर्मा, स्वयम्भूराज शाक्य, निशा देसार, सानुबाबु महर्जन, नाट्य एवं चलचित्र क्षेत्रका कलाकार कृष्णभक्त महर्जन, कलाकार आराध्यलक्ष्मी खड्गीले गीत, नृत्य प्रस्तुत् गर्नेछन् भने हास्यव्यंग्य क्षेत्रका लेखक र निर्देशक राजेशमान सिंहको ख्यालः (हास्यव्यंग्य नाट्य प्रस्तुति) प्रस्तुत गरिने भएको छ। त्यसै गरी नृत्य क्षेत्रका गुरुहरू मोहन व्यञ्जनकार तथा सञ्जय शर्मा राजोपाध्यायको नृत्य पनि कार्यक्रममा प्रस्तुत हुनेछ भने वाद्यवादकहरू ईश्वर जोशी, मिलेश तण्डुकार, मिलन तण्डुकारबाट वाद्यवादन प्रस्तुत हुने परिषद्ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्