पर्यटन प्रवद्र्धनलाई फाखेलको गीत



हेटौंडा, (नेस)
शिरमाथि चन्द्रागिरि हाँस्छ मुसुमुसु
दामनमा चाँदीझैं हिउँ पर्छ फुसुफुसु
कसले राखिदियो होला यति राम्रो नाउँ
स्वर्गभन्दा प्यारो लाग्छ मेरो फाखेल गाउँ
मरेपछि फेरि पनि पुनर्जन्म यहीं पाउँ।
मकवानपुर फाखेलका राजु लामा यस्तै शब्दका स्वरसहित आफ्नो जन्म तथा कर्मभूमिलाई संगीतमा उतारेर दर्शक तथा स्रोतासामू आएका छन्। सानैदेखि गीत⁄संगीतमा रुचि राख्नेमात्र होइन, विभिन्न कार्यक्रममा आफ्ना प्रस्तुति देखाएका उनी पछिल्लो समय मेरो फाखेल गाउँ नामका म्युजिक भिडियो लिएर आएका हुन्।

राजु लामा र अप्सरा केसीको संयुक्त शब्द रहेको गीतमा मकवानपुरका उत्तरी क्षेत्रका प्रसिद्ध ठाउँ समेटी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको उनी बताउँछन्। गायक लामालाई कोरस भोकलमा गायिका सिर्जना कपालीले साथ दिएकी छन्। शब्दलाई संगीतबाट सिंगार्ने काम मकवानपुरे संगीतकार विनय केटुले गरेका छन्।

यसको म्युजिक भिडियोमा नवक्षितिज कला केन्द्रका प्रशिक्षक कृति लो, अनु स्याङतान, श्रीकृष्ण श्रेष्ठ, थाहा नगर उद्योग वाणिज्य संघद्वारा आयोजित थाहा आइडल विजेता एलिना राना मगर, रोशनी ताामाङ, उर्मिला स्याङतान, नोर्साङ तामाङ, सबिता बस्नेत, सुशान्त गोपाली, सुरेन्द्र तमाङ, रोहन स्याङतान, देलु वाइबा र विशेष थिङलगायतले मोडलिङ गरेका छन्। गायक लामा र लो आफैंले म्युजिक भिडियोमा अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यले गरेका हुन्।

नवक्षितिज कला केन्द्रको तेस्रो एल्बममा समावेश हुने उक्त गीत राजु लामाको पहिलो रेकर्डिङ भएको गीत हो भने कृति लोको तेस्रो म्युजिक भिडियो हो। केन्द्रले यसअघि तारिफ र उमंग एल्बम बजारमा ल्याइसकेको छ। म्युजिक भिडियोको छायांकन उत्तरी क्षेत्रका रमणीयस्थल चखेल, देउराली, घट्टेखोला, पुरुण्डी, बाख्राफार्म, इन्द्रसरोवर, दामन, झम्केश्वरी र बज्रबाराहीमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्