अलबिदा ‘लादालाम



विदुर गिरी, काठमाडौं
‘लादालाम मेलो लाम, इन्जिदियल मेलो ताम भन्दै तोते बोलीमा संवाद बोलेर सबैलाई हँसाउँदै आएका हास्य कलाकार तथा गायक आरपी (रुद्रप्रसाद) भट्टराई अकस्मात् सबैलाई रुवाउँदै बिहीबार राति यो धर्तीबाट बिदा भएका छन्।

हास्य टेलिसिरियल तीतो सत्यमा तोते बोलीसहितको सो भूमिका गराएर आरपीको लोकप्रियतालाई थप उचाइ दिलाएका हास्य अभिनेता दीपकराज गिरीका अनुसार विराटनगरस्थित घर गएका उनी बिहीबार सुत्नका लागि मधुमारास्थित फुपूको घरमा गएका थिए। उनलाई बिहान मृत अवस्थामा भेटिएको थियो। ‘सुतेकै ठाउँमा निधन भएकाले कतिखेर निधन भयो भन्ने परिवारका कसैलाई पनि थाहा भएन, उसको निधन हर्ट अट्याक (हृदयाघात) बाट भएको रहेछ –भट्टराईको निधनको खबर पाएपछि शुक्रबार साँझ विराटनगर पुगेका गिरीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने।

आरपी केही समयदेखि उच्च रक्तचाप, मधुमेह र कोलस्टोरबाट पीडित थिए। मोटो शरीर र दीर्घ रोगका कारण उनी हाइडोजको औषधि सेवन गर्दै आएका थिए। तर, मृत्युका अगाडि उनले सेवन गर्दै आएको औषधिको पनि हार भएको छ। आरपीसँग चिरपरिचितहरूका अनुसार उनी सरल र सहयोगी स्वभावका थिए।

सशक्त अभिनय तथा हँस्यौली स्वरका धनी उनी कुनै पनि कामलाई उत्कृष्टता दिलाउनका लागि दिल नै खोलेर लागिपर्थे र सहयोग पनि गर्दथे।

दर्जनौं टेलिसिरियलमा अभिनय गर्दै आएका उनले खास गरी ५२ घुस्सा ५३ ठक्कर नामक सिरियलको हास्य भूमिकाबाट लोकप्रियता कमाएका थिए भने तीतो सत्यमा लादालाम बनेर खेलेपछि रातारात उनको लोकप्रियता चुलिएको थियो। छ एकान छ, वडा नम्बर छजस्ता चलचित्रको प्रोडक्सन मेनेजरका रुपमा काम गरेका उनले हाल प्रदर्शनमा रहेको छक्का पञ्जासहित मालतीको भट्टीजस्ता चलचित्रमा अभिनय गरेका थिए। उनीद्वारा अभिनित अर्को चलचित्र लालटिन प्रदर्शनको तयारीमा छ। उनी सांस्कृतिक संस्थानमा कलाकारका रुपमा जागिरेसमेत थिए।

गीत गाउन र संगीत भर्नसमेत सिपालु उनले हास्य एल्बमका साथ केही हास्य गीति एल्बमसमेत सार्वजनिक गरेका थिए। माली गाईको घिउ मन पर्छ पर्दैन मेरो जिउ, कालो रैछु म पनिजस्ता उनका गीत लोकप्रिय छन्। केबल ४२ वर्षका उनको दिल्लीबाट भाइ आएपछि शुक्रबार राति विराटनगरमै दाह संस्कार गरिएको छ। उनको परिवारमा आमा, पत्नी र २ छोरा छन्।

प्रतिक्रिया दिनुहोस्