गुल्मीमा कुचो जुलुस प्रदर्शन



नेपाल समाचारपत्र
गुल्मी

सरकारले आफ्ना माग सुनुवाइ नगरेपछि गुल्मीमा कुचो जुलुस प्रदर्शन भएको छ। सरकारले संविधान संशोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्रइएको विरोधमा गुल्मीमा जारी आन्दोलनमा गुल्मीका महिलाहरू विरोधस्वरूप कुचो लिएर सडकमा उत्रिएका हुन्। महिलाहरूले वर्तमान सरकारले फोहोरी काम गरेको भन्दै कुचोले बढारेर सफा गर्ने भन्दै उनीहरूे सडकमा उत्रिएका छन्। जिल्लाको सदरमुकाम तम्घासको जिल्ला प्रशासन अगाडिबाट उनीहरूले बजारका विभिन्न स्थानमा कुचो हातमा लिएर बढार्दै विभिन्न नाराबाजीसमेत गरेका थिए।

महिलाहरूले विवाद नभएको पाँच नम्बर प्रदेशमा सरकारले संविधान संशोधनको निहँुमा विवाद निम्त्याइदिएको भन्दै विरोध गरेका छन्। जिल्लाको सदरमुकाम तम्घासको लाकुरीमञ्चबाट उनीहरू सडकमा सफा गर्दै नाराबाजी गर्दै प्रदर्शन उत्रेका छन्। कुचो जुलुस प्रदर्शनपछि कोणसभासमेत सम्पन्न भएको छ।

कोणसभामा बोल्ने अधिकांश महिलाले सरकारबाट भएको फोहोरी खेल तुरुन्त अन्त्य गर्न सुझाव दिएका छन्। महिलाले सरकारलाई जनभावना विपरीत कदम नचाल्न आग्रह गरेका छन्।
१० दिनदेखि अनिश्चित्कालीन बन्दले गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ। बन्दकर्ताले बिहानैदेखि बन्द गराउँदै हिँड्नाले जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन छुटेका छैनन्।

जिल्लाको सदरमुकाम तम्घाससहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउँदै आएका छन्। संविधान संशोधनको विरोधमा शुक्रबार पनि सरकारी कार्यालयमा कामकाज ठप्प पार्न धर्ना दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्