संसद फेरि अवरुद्ध



नेपाल समाचारपत्र
काठमाडौं

सभामुखबाट संसद् अवरोधको गाँठो फुकाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफल अर्थहीन भएपछि शुक्रबार पनि संसद् बैठक अवरुद्ध भएको छ।

शुक्रबार विपक्षी दलहरूको तर्फबाट विशेष समय लिएर बोल्नुभएका राष्ट्रिय जनमुक्ति पार्टीका सांसद शिवलाल थापाले अरू दिनभन्दा नरम तरिकाले सीमांकन हेरफेर प्रस्ताव सकारात्मक रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हालको संशोधनमा थोरै भए पनि मगरात प्रदेशमा सीमांकन हेरफेर भएको छ। मगरको क्लस्टर हिजो मिलेको थिएन। अहिले सो क्लस्टर मिलाएर ४ नम्बर क्षेत्रमा मगरातजस्तो देखिने संशोधन आएको छ। यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं।

सांसद थापाले सीमांकनको कुरामा केही सकारात्मक देखिए पनि अंगीकृतलाई उच्च तहसम्म पुर्याउने प्रस्तावलगायत अन्य विषय देशको हितमा नभएको भन्दै विधेयक फिर्ता लिन माग गर्नुभयो। उहाँले आदिवासी जनजातिले बोल्ने भाषालाई मान्यता नदिने तर, हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिन खोजेको आरोप लगाउँदै सच्याउन माग गर्नुभयो।

सांसद थापाले बोले लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे। सभामुख ओनसरी घर्तीले आसन ग्रहण गर्न गरेको अनुरोध विपक्षी सांसदहरूले अटेर गरेपछि संसद बैठक मंसिर ३० गतेसम्मका लागि स्थगित भएको छ। विश्वका महिला सभामुखहरूको ४ दिने भेलामा भाग लिन सभामुख घर्ती शनिबार युएई जान लागेकाले संसदको बैठक थप लम्बिएको हो।

पटक–पटकको संसद अवरुद्धले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाभियोगमाथिको सुनुवाइ सरेर उनलाई हाइसन्चो त भएको छ नै। साथै, नेपाली कांगे्रसबाट शपथ ग्रहण गरेका ८ राज्यमन्त्री नियुक्त भएको जानकारीसमेत संसद्मा औपचारिक रूपमा सभामुखबाट दिन सकिएको छैन।

उता मधेसी मोर्चाको अगुवाइ गरिरहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग कुम जोड्दै सहकार्य गरेर विरोधको कार्यक्रम गर्ने तय गरेपछि मोर्चाको नेतृत्व फेरिने कसरत शुरु भएको छ। नेपाल सद्भावना पार्टीका एक केन्द्रीय सदस्यले नाम उल्लेख नगर्ने शर्तमा नेपाल समाचारपत्रसँग भने– ‘हिजो डा. भट्टराईले संविधान जारी गरेरै हामी मधेसीलाई अलपत्र पार्नु भएको हो। आज मोर्चाको अगुवाइ गरेर डा. भट्टराईसँग साँठगाँठ गरेर फोरम अध्यक्ष यादव मधेसमाथि घात गर्दै हुनुहुन्छ। त्यसैले, चाँडै नै मोर्चाको संयोजकबाट उहाँलाई हटाइनेछ।

प्रतिक्रिया दिनुहोस्