हाकुका गुठी प्रभावितद्वारा जग्गा दर्ता



नेपाल समाचारपत्र
रसुवा

रसुवाको हाकुका ५० भन्दा बढी गुठी प्रभावितले जग्गा दर्ता प्रक्रिया अघि बढाएका छन्। हाकुमा रहेका गुठी प्रभावितलाई जग्गा उपलब्ध गराउनका लागि स्वयम्भु पुरानो घ्याङ गुठीले फिल्ड बुक उपलब्ध गराएपछि प्रभावितले धमाधम जग्गा दर्ता गर्न थालेका छन्। नापी कार्यालयबाट नक्सा बनाउने तथा फिल्ड बुकको अध्ययन भइरहेकाले आवश्यक कागजी प्रक्रिया पूरा गरेर मालपोत कार्यालयमा निवेदन दिने तयारीमा रहेको हाकुका लेखापढी व्यवसायी सानु तामाङले बताउनुभयो।

५० भन्दा बढी गुठी प्रभावितको नापी कार्यालयमा निवेदन दिएर नक्सा बनाउने काम सम्पन्न भएको र जग्गाधनी पुर्जा निर्माणका लागि मालपोत कार्यालयमा निवेदन दिन मात्र बाँकी रहेको तामाङको भनाइ छ। तामाङका अनुसार फिल्ड बुकमा मोही कायम नभएको र गाउँमा बोलाउने नाम राखिएकाले जग्गा दर्ता गर्न समस्या आएको छ।

फिल्ड बुकमा मोही कायम भएका गुठी प्रभावितले ५ हजार तिरेर जग्गा दर्ता गर्नका लागि ३५ दिने सूचना जारी गरिएको जिल्ला मालपोत अधिकृत फणीन्द्र दाहालले बताउनुभयो। फिल्ड बुक खाली भएको र सिसाकलमले लेखेकोलाई भने जग्गा दर्ता गर्न नसकिने दाहालको भनाइ छ। दाहालका अनुसार २ सयभन्दा बढीको जग्गा दर्ता हुन सक्ने सम्भावना रहेको छ।

झन्डै तीन दशकदेखि स्वयम्भु पुरानो घ्याङ गुठीको नाममा दर्ता भएको जग्गाको लालपुर्जा पाउनका लागि हाकुबासीले २०६२ सालदेखि दबाबमूलक अभियान सचालन गर्दै आएका थिए। २०३५ सालमा जिल्लामा नापी कार्यालयको स्थापनापछि रकम तिर्न नपर्ने भन्दै गाउँलेले स्वयम्भु पुरानो घ्याङ गुठीमा जग्गा दर्ता गराएका हुन्।

हाकुका १, ८ र ९ बाहेकका ६ वटा वडाका ४ सय ३१ घरधुरीको आफ्नो नाममा जग्गाधनी पुर्जा नहुँदा भूकम्पले भत्काएको घर पुनर्निर्माणका लागि अनुदान सम्झौतासमेत हुन नसक्दा प्रभावित अन्योलमा परेका थिए। उनीहरूले जोतपोत गर्दै आएका १ हजार ८९ कित्ता अर्थात् ५ हजार ११ रोपनी जग्गा स्वयम्भु घ्याङ गुठीको नाममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्