कर्तव्य ज्यान मुद्दाका दोषी २७ वर्षपछि पक्राउ



जाजरकोट, (नेस) जाजरकोटमा २७ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार रहेका साल्मा–९ जाजरकोटका ६१ वर्षीया प्रेमबहादुर थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

२०४७ साल माघ ७ गते जाजरकोट जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २० वर्ष कैद हुने फैसला सुनाएको थियो। अदालतबाट उनको विपक्षमा फैसला गरेर २० वर्ष कैद सजायको पैmसला भएपछि थापा फरार रहेका थिए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएपछि थापा फरार भई प्रहरीको खोजीमा थिए।

अदालतको फैसलाअनुसार कैद भुक्तानी गर्न बाँकी रहेका थापा गाउँमा आएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुभाष भट्टको नेतृत्वको खटिएको टोलीले थापालाई उनको घरबाटै पक्राउ गरेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले जानकारी दिए। अदालतको फैसला कार्यान्वयनअन्तर्गत प्रहरीले थापालाई पक्राउ गरेको डीएसपी रिमालले बताए। अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत यो वर्षमा मात्र जाजरकोटमा ४५ बढी जरिवाना र कैद असुलीका काम गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। अपराध नियन्त्रण, कैद तथा जरिवाना असुलीमा जाजरकोट प्रहरीले सक्रियता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्